“साइज कति हजुर ?” पसलेले जुत्ताको नाप सोध्यो ।
“छ नम्बर देखाउनुस् न ? मैले आजसम्म लाउने नै त्यै हो !” उसले निश्चितताका साथ भन्यो ।
पसलेले उसको खुट्टामा पुलुक्क हेर्यो र तत्काल असहमति जनाउँदै भन्यो, “तर तपाईंको खुट्टाले सात नम्बर माग्छ त? नपत्याए यो लाउनुस् त ?”
उसले असन्तुष्टि जनाउँदै जुत्ता लगायो । खुट्टामा जुत्ता एकदम ठिक्क भयो । दुईचार कदम हिँडेर ऊ थचक्क मेचमा बस्यो र मनैमन तर्क गर्यो– साँचा अनुसारको जुत्ता यो हुँदै होइन ! किनभने, जसले आजसम्म छ नम्बर लगाइरहेको छ, उसलाई सात नम्बर कसरी फिट हुन्छ ? यो आधुनिक जुत्ता मलाई कदापि स्वीकार्य छैन !
उसले जुत्ता फुकालेर फ्यात्त भुइँमा बजार्दै चिढिएर भन्यो, “छ नम्बरै निकालौं न भाइ ?”
पसलेले उसको अनुहार घोरिएर हेर्याे र मुस्कुराउदै भन्यो, “खुट्टा मात्र हैन, सोचले पनि कहिलेकाहीँ विस्तार माग्छ हजुर !”



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 








