“आज त धेरै वर्षपछि हामी तीन बहिनीले सँगै दाइलाई टीका लगायौँ,” पुतली हर्षित हुँदै भनी । ऊ सबैभन्दा सानी थिई – चञ्चल र जिज्ञासु स्वभावकी पनि उही थिई ।

“के गरौँ नानी, छोरी भएर जन्मिएपछि त आफ्नै घर छोड्नुपर्छ । त्यसपछि सबै छुट्टाछुट्टै घर र टाढा–टाढा बस्नुपर्छ । चाहेर पनि सजिलै भेट हुन सक्दैन,” उर्मिला निराश हुँदै भनी ।

ऊ सबैभन्दा ठूली थिई । उर्मिलाकी आमा बितेपछि उनका बुबाले दोस्रो विवाह गरे र तीन भाइबहिनीको जन्म भयो । ठूली भएकै कारण उर्मिलाले पढ्ने मौका पाइनन् । सानैमा उनको विवाह भयो, जब कि बाँकी दुई बहिनीले पढ्ने अवसर पाए ।

“दिदी, सबै महिलाको कथा उस्तै हुन्छ नि । चिन्ता नलिनोस् । हामी टाढा भए पनि हृदय त नजिकै छ । बरु समय–समयमा भिडियो कल गरेर दुःख–सुख साटौँला,” माइली बहिनी बिनताले उर्मिलातिर हेर्दै भनी । ऊ अलि कम बोल्थी तर सधैं गहिरा शब्द प्रयोग गर्थी ।

“दिदी, दाइले दिएको दक्षिणा साटासाट गरौँ न,” पुतलीले ठट्टा गर्दै उर्मिलाको हातबाट लिफाफा च्याप गरी खोसी र लुकाएर हेरी । त्यो देखेर ऊ मलिन अनुहार बनाई ।

“के भयो ?” बिनताले सुस्तरी सोधी । पुतलीले केही नभनी लिफाफा थमाई । त्यो देखेर बिनतालाई पनि नराम्रो लाग्यो ।

उर्मिलाले उनीहरूतिर ध्यान दिएकी थिइनन् ।

बिनताले नदेखाई लुकाएर आफ्नै लिफाफा उर्मिलालाई दिई र उर्मिलाको आफैंले राखी ।

दुवैलाई हजार–हजार रुपैयाँको दक्षिणा थियो, तर उर्मिलालाई पाँच सय मात्र । त्यो त उसलाई फर्कने भाडा तिर्न पनि पुग्दैनथ्यो । उर्मिलाको पारिवारिक अवस्था पनि कमजोर थियो ।

“उही बाउको छोरा पनि छि…!” बिनताले मनमनै भनी ।