एक दिन म बाटोमा हिँड्दै गर्दा देखेँ । एक जना मानिस खोलाबाट पानी ओसार्दै इनार भरिरहेका थिए । मलाई लाग्यो,यो कस्तो गँवार मानिस रहेछ ! यत्रो खोलामा पानी छ, चाहिँदा आफू खुसी प्रयोग गरे भइगो नि बित्थामा किन खोलाको पानी झिकेर इनार भरिरहेको होला ? आश्चर्य पनि लाग्यो । यसरी पनि कहीँ इनार भरिन्छ ! न खोलै घट्छ ।

दिनभरि त्यही कुरा, त्यही दृश्य यी आँखामा रुमलिइरह्यो । कस्तो अचम्मको बच्चो ! अर्को दिन पनि त्यही बाटो भएर त्यसरी नै कतै जाँदै थिएँ । तिनै मानिस त्यसरी नै त्यहीँ खोलाको पानी इनारमा भरिरहेका रहेछन् । अघिल्लो दिनदेखिको मनको कौतूहल नमेटी सकिन ।

मेरो पहिले देखिको बानी यस्तै छ । कसैलाई केही कुरा सोध्नु पर्‍यो भने सिधै सोध्ने हो ।

ठाडै सोधेँ, “यो के गरेको तिमीले ? के गरौँला भन्ने छ तिमीलाई यसरी खोलाको पानी बाल्टीमा ओसारेर ?”

त्यसपछि उसले भन्यो, “ए मूर्ख मान्छे तिमीले यही प्रश्न सोध्छौ कि सोध्दैनौ भनेर मैले यसो गरेको हुँ । सधैँ तिमी यही बाटो भएर ओहोरदोहोर गरिरहन्छौ । म सधैँ तिमीलाई यही बाटो भएर ओहोरदोहोर गरिरहेको देख्छु तर तिमीले यतिका दिनसम्म पनि मलाई देखेनौ । सुन अरू कसैले होइन । एक दिन यिनै मेरा एक थरी सन्तानले बाइबल जलाउने छन् र अर्को थरी सन्तानले गीता च्यात्नेछन् । त्यति बेला यो देशमा फेरि आगो बल्नेछ । त्यो आगो निभाउनलाई पानी नभई हुँदैन । अहिले म त्यसकै लागि पानीको जोहो गरिरहेको छु ।”

उसको कुरा सुन्दासुन्दै झ्याउ लागेर म त टोलाउन पो थालेछु । झल्याँस्स भएँ ।