“कृपया शान्त बनौँ, हल्ला नगरौँ ।” उद्घोषकको आवाजले कोलाहल थामियो ।

प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरू लगायत विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।

उपस्थित जनसमुदायले मैदान खचाखच थियो । विशेष तामझामका साथ समारोह चलिरहेको थियो ।

विभिन्न कार्यक्रम पश्चात् पुरस्कार वितरण गरियो । त्यसपछि समाजको, राष्ट्रको लागि विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरूलाई विभूषित गरियो ।

यसै क्रममा उद्घोषकले उद्घोषण गरे, “प्रदेश रत्न प्रथम स्वर्गीय मणिमुकुन्ददेवलाई मरणोपरान्त” र थपे “उहाँको कोही आफन्त मञ्चमा आई ग्रहण गरिदिनुहुन अनुरोध गर्दछु ।”

उनका पुत्र मञ्चमा आए । प्रमुख अतिथिले उनलाई टीका लगाई दोसल्ला ओढाए अनि पदक गलामा लगाइदिए । पुत्रले बडो प्रसन्न मुद्रामा, गर्वका साथ सम्मान ग्रहण गरे ।

“हैन ! मरणोपरान्त भनेर दिएको सम्मान पदक जीवित व्यक्तिको गलामै लगाउन मिल्छ र भन्या ?” दर्शक दीर्घामा खासखुस सुनियो ।

रुपन्देही