
केही अल्छी स्यालहरू सहज शिकारको लोभमा आफ्नो क्षेत्रको जङ्गल छोडी खोलापारिको अर्को जङ्गलतिर लागे । दुर्भाग्यवश ती युवा स्यालहरू क्रूर ब्वाँसाहरूको आतङ्ककारी हमलामा परेर मरेपछि जङ्गलभरका स्यालहरू ठाउँ ठाउँमा प्ले कार्ड बोकी भेला भए र त्यस आतङ्कको घोर विरोध गर्दै शोक प्रस्ताव पारित गरी यस्ता निर्णय गरे,
जङ्गलभरका स्यालहरूले एकदिन शोक मनाउने ।
सो दिन स्याल जाति कसैले पनि शिकार नगर्ने ।
उता आफ्नो परिवारका सदस्यको मृत्युमा स्यालका परिवारजन शोकमग्न थिए । उनीहरूलाई भोक र शोक दुवैले सताएको थियो । यता अरू स्यालहरूको भीड भने विभिन्न प्ले कार्ड बोकी सडकतर्फ ओर्लेको थियो, उनीहरूले उरालेका नारा यस्ता थिए –
सबै स्यालहरू एक ढिक्का होऔँ ।
हिंसाको अन्त्य गरौँ ।
स्यालको वासस्थान सुरक्षित गर ।
मृत स्यालहरूको लास तुरुन्त आफ्नो क्षेत्रमा ल्याऊ ।
यता मृत स्यालका परिवारजनहरू भोक र शोक दुवैले पिरोलिएका थिए भने उता केही टाठाबाठा स्वार्थी स्यालहरू मृतकको नाउँमा राजनीति गर्दै थिए । भोलिपल्ट झिसमिसमै लोभी स्यालहरूले उर्दी जारी गरे, ‘अब शिकार गर्न निस्के हुन्छ । बाख्राका पाठा, कुखुराका भाले, हाँस, परेवा जे भेटिन्छ नछोड्नु, समातेर निमोठ्नु । यो हाम्रो पहिचानको कुरा हो ।’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

