उनलाई मूल ढोकाबाट भित्रिएको देख्ने बित्तिकै भागदौड मच्चियो ।

हस्याङफस्याङ चल्यो ! अत्यास छायो ! कालो बादल मडारिए झैँ भयो !

कोही बाहिर निस्केका आफ्ना साथीभाइलाई छिट्टै फर्किहाल भनेर फोन गर्न थाले । कोही झोलाबाट पोशाक झिकेर अँध्यारो कोठामा गएर फेर्न थाले ।

उनी चाहिँ सरासर कार्यालय प्रमुखको कार्यकक्षमा पुगेर  सबै कर्मचारीलाई उपस्थित गराउन आदेश गरे । हाकिमले तालुकदार मन्त्रालयका मन्त्रीको आज्ञा शिरोपर गरे ।

एकैछिनमा उपलब्ध सबैलाई उपस्थित गराइयो । बडा हाकिमले हाजिरी रजिस्टर पल्टाउँदै प्रश्न गरे,

बडा हाकिम : तपाईँले पोशाक भत्ता पाउनु भएको छ कि छैन ?

कर्मचारी नं. १ : पाएको छु सर ।

बडा हाकिम : त्यसो भए तपाईँले किन कर्मचारी पोशाक लगाउनु भएन ?

उनले कार्यालय प्रमुखलाई भने, “आज वहाँको गयल जनाइदिनू !”

कर्मचारी नं. १ थरथर काँप्दै चुपचाप बसे । बडा हाकिमले कर्मचारी नं. २,३,४ लाई पनि सोही मुद्दामा समाते, सबै मौन बसे । अर्को कर्मचारीको पालो आयो ।

मन्त्रीले कर्मचारी नं. ५ लाई बेस्सरी हपारे, “अनि तपाईँले चाहिँ किन लगाउनु भएन त कार्यालय पोशाक, कि तपाईँलाई छुट छ ?”

कर्मचारी नं. ५ : जङ्गिएर नीडरताकासाथ बोले, “छुट त हजुरलाईलाई छ नि ! छड्के गर्न आउने कर्मचारी न तपाईंको कर्मचारी पोशाक छ, न परिचयपत्र नै झुन्ड्याउनु भएको छ ! आफ्नो आङको भैँसी नदेख्ने अर्काको आङको चाहिँ जुम्रा पनि देख्ने ?”