मैले उसलाई पढाएको नै हैन । न‌ कुनै ज्ञान नै दिएको छु ।

तर ऊ मलाई सर भनी बोलाउँछ । खुलेर मसँग गफ गर्छ । मेरो हाल खबर यसरी सोध्छ लाग्छ अरू कसैलाई मेरो खबर सुनाउनु पर्ने हुन्छ । लाग्छ हामी धेरै अघिदेखि चिनजानमा छौँ ।

जति बेला पनि म भेट्छु उसलाई बाटोतिर । प्लास्टिकको बोरा काँधमा बोकेर ऊ जहिल्यै हतारले हिँडिरहेको हुन्छ ।

म उसको केशको तारिफ गरिदिन्छु । उसको लागि नयाँ तर कसैले मिल्काएको पुरानो जुत्तालाई दामी भनी दिन्छु ।

मैलाको थुप्रोमा भेट्टाएको, चस्मामा उसलाई पाउँदा कति हिरो देखिएको छौ तिमी फुर्काइदिन्छु । उसको अनुहारमा चमक छरपस्टिन्छ । म नजानिँदो तरिकाले ऊप्रति तानिन्छु ।

यसरी उसको खुल्ला खुसी हेर्न भए पनि बोलिरहन्छु ।

आज बेलुकी भेट भयो । एउटा फोन कल सकेर बिरक्तिएर म चिसोमा उभिएको थिएँ ।

उसले छेउमा आएर मलाई सल्लाह दिएर गयो –

सर !

बेसी नसोच्नू !

नत्र यो दुनियाँले पागल भन्छ मलाई जस्तै !

दार्जिलिङ, भारत