मैले उसलाई पढाएको नै हैन । न कुनै ज्ञान नै दिएको छु ।
तर ऊ मलाई सर भनी बोलाउँछ । खुलेर मसँग गफ गर्छ । मेरो हाल खबर यसरी सोध्छ लाग्छ अरू कसैलाई मेरो खबर सुनाउनु पर्ने हुन्छ । लाग्छ हामी धेरै अघिदेखि चिनजानमा छौँ ।
जति बेला पनि म भेट्छु उसलाई बाटोतिर । प्लास्टिकको बोरा काँधमा बोकेर ऊ जहिल्यै हतारले हिँडिरहेको हुन्छ ।
म उसको केशको तारिफ गरिदिन्छु । उसको लागि नयाँ तर कसैले मिल्काएको पुरानो जुत्तालाई दामी भनी दिन्छु ।
मैलाको थुप्रोमा भेट्टाएको, चस्मामा उसलाई पाउँदा कति हिरो देखिएको छौ तिमी फुर्काइदिन्छु । उसको अनुहारमा चमक छरपस्टिन्छ । म नजानिँदो तरिकाले ऊप्रति तानिन्छु ।
यसरी उसको खुल्ला खुसी हेर्न भए पनि बोलिरहन्छु ।
आज बेलुकी भेट भयो । एउटा फोन कल सकेर बिरक्तिएर म चिसोमा उभिएको थिएँ ।
उसले छेउमा आएर मलाई सल्लाह दिएर गयो –
सर !
बेसी नसोच्नू !
नत्र यो दुनियाँले पागल भन्छ मलाई जस्तै !
दार्जिलिङ, भारत



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 









