मूल्यांकनको क्रम चलिरहेको थियो । पहिलो निर्णायकको हातमा स्याने सार्कीको कविता पर्‍यो । कविता यति शक्तिशाली थियो कि निर्णायक ज्यूको सातोपुत्लो उड्यो । उनलाई भित्रभित्रै एक किसिमको जलन जस्तो केही भएर आयो । कविको थरले त झन् उनलाई छटपटी नै गरायो । तुरुन्तै कवितालाई शून्य अंक दिएर उनी अन्य  कविता पढ्नतिर लागे ।

दोस्रो निर्णायकको हातमा पनि उक्त कविता पर्न गयो । अभिव्यक्ति, भाव, चेतना, विचार आदि जम्मैले कविता एक नम्बर थियो । तर उनलाई पनि कविताले पिरोलेन मात्रै अशान्ति नै गरायो । उनले पनि कवितालाई शून्य अंक प्रदान गरे ।

तेस्रो निर्णायक ज्यूले पनि उक्त कविता सहनै सकेनन् । कविता यति बुलन्द थियो कि उनलाई बेस्सरी  ईर्ष्या लाग्यो । भित्रभित्रै कताकता डामे जस्तो लाग्यो । उनीबाट पनि  उक्त कविताले आखिर शून्य नै पायो ।

यसरी जातीय विभेद विरुद्ध आगो ओकलिएको एउटा सशक्त ज्वालामुखी जस्तो  कविता ‘राष्ट्रिय’ भनिएको प्रतियोगितामा रद्दी साबित भयो र त्यसले शून्याङ्क प्राप्त गर्‍यो । आखिर विजेता तिनै कविताहरू भए जसले ती कथित उच्च जातिका निर्णायकहरूको अहममा कहीँकतै आँच पुर्‍याएका थिएनन् ।

पुरस्कार समारोहको दिन सभाहलभरी मानिसहरू खचाखच थिए । मञ्चमा विजेता भएका कविताहरूको वाचनका साथमा बाँसुरी, गितार र तबलाको मीठो धुन गुन्जिरहेको थियो । सारा दर्शकहरू मन्त्रमुग्ध थिए । भरपुर आनन्द उठाइरहेका थिए ।

मञ्च तल सुरुकै लहरमा बसेका ती तीन निर्णायक महानुभावहरूको मन भने बडो बेचैन थियो । उनीहरूको छाती भारी भएको थियो । मुटुमा स्याने सार्कीको उक्त कविताले ठोकेको ढ्याङ्ग्रो अझै बजिरहेकै थियो-
‘ढ्याङ्ढ्याङ ..ढ्याङ्ढ्याङ् ..ढ्याङ्ढ्याङ्..ढ्याङढ्याङ ..’