ती दुवै जना आ-आफ्नो प्रेम जीवनमा असफल प्रेमी थिए ।

‘सुनेको छु, तपाईंको प्रेम टुटेको रे । साँचो हो त ?’ ऊसँग भेटघाटको क्रम बढ्दै गएपछि पूजाले सोधी ।

‘सत्य हो । मैले पनि तिम्रो बारेमा यस्तै कुरा सुनेको थिएँ । सोध्ने इच्छा भएर पनि सोध्न चाहिँ नसकेको ।’ उसले भन्यो ।

पूजा एकछिन मौन रही । चुपचाप चिया पिइरही ।

‘हो, उसैले धोका दिएको । मैले होइन ।’

‘मेरो पनि त्यस्तै हो । ऊ आफैले निणर्य गरेकी ।’ उसले भन्यो र पूजाको अनुहारमा हेरिरह्यो ।

‘जिन्दगी यही रित्तो गिलासजस्तो लाग्दैछ अचेल ।’ पूजाले चियाको गिलास टेबलमा राखेपछि निरास हुँदै भनी ।

‘एकपटक रित्तिएको गिलासमा फेरि पनि चिया भर्न सकिन्छ । यदि हामी दुवैको मन मिल्यो भने …। ’ उसले वाक्य पूरा नगरिकनै पूजाको हात समाउँदै भन्यो ।

झन्डै एक महिनापछि ।

‘पूजा, मैले मोबाइल कोटको खल्तीमा नै बिर्सेछु ।’ उसले मोटरसाइकल स्टार्ट गरेपछि भन्यो ।

पूजाले कोटको सबै खल्तीमा मोबाइल खोजी, तर मोबाइल भेटिएन । बरु उसले एउटा फोटो फेला पारी । फोटोपछाडि लेखिएको थियो – “तिमी मेरी प्रियतम् ! हृदयकी चाँदनी !”

फोटो कुनै युवतीको थियो ।