शनिवार बिहान  रामायण आउँथ्यो टेलिभिजनमा । हाम्रो पुरै बाल्यकाल रामायणमय भएको थियो । क्याप्टेन काकाको घरमा एक डालो मकै छोडाउन सघाए पछि हामी भुराभुरीले श्यामश्वेत टेलिभिजनमा रामायण हेर्न पाउँथ्यौँ। आहा..!  सुरुमै आउने त्यो भक्ति गीत …आहा ! ती एक एक दृश्यहरू…क्या गज्जब थिए ती दिनहरू ।

म आफूलाई पूरा विश्वास थियो कि रामायणको वीर हनुमान त मै हुँ । त्यो पहाड उचाल्ने त्यो शक्तिशाली व्यक्तित्व मै हुँ । समस्या त तब पैदा भयो जब थाहा पाएँ कि रमेश पनि आफूलाई वीर हनुमान मान्दो रहेछ । अनि हाम्रो आत्मीय मित्रतामा खल्लोपन पैदा भयो । बोलचाल कम हुन थाल्यो । हामी मध्यको वीर हनुमान भन्ने विषयमा हामी सहमति जुटाउन साथीहरूबीच गुटबन्दी नै गर्न थाल्यौँ । मैले थुप्रै चोटि प्रस्ताव राखेँ कि बरु त भगवान राम लैजा , बाली या सुग्रीव या अङ्गत जो सुकै लैजा तर हनुमान चैँ मलाई छोड्। तर ऊ टसकामस भएन । त्यसपछि स्थिति  भिडन्तै हुने गरी बिग्रँदै गयो ।

एक दिन स्कुलबाट घर फर्कँदै गर्दा लाँकुरीको फेदमा रमेशले मलाई रामायणकै युद्ध संवादको शैलीमा लङ्कार्यो कि “लु आइज !! आज जसले जित्छ उही हनुमान ।”

अनि पर्यो हाम्रो लाप्पा । पछारापछार गुल्टागुल्टी चलिरहेथ्यो । अचानक  हेडसर आइपुग्नु भो । म हत्तपत्त भागेर अलिक तलतिर पुगिहालेँ । म लुकेँ ।

रमेशलाई भने च्याप्प समाएर हप्काउनु भो  “घर नगएर बाटोबाटो झगडा गर्छस् ?” अनि एक लात्ता हानेर भन्नु भो

“भाग् । तँलाई हनुमान ! ”

रमेश मतिर हेर्दै बडो उत्साहले चिच्यायो “ओइ भोला सुनिस् ? हेड्सरले नि भन्नु भो, मै हनुमान” ।

म खिस्रिक्क परेँ ।