गाइँगुइँ हल्ला चलेको थियो फुर्के र लक्ष्मीको बारेमा । गाउँभरीमा लक्ष्मीको घरमा मात्रै टिभी थियो । गाउँका युवा युवती साँझ परेपछि  टिभी हेर्न भेला हुन्थे । हल्ला यो थियो कि लक्ष्मीको बाउआमा घरमा नहुँदा फुर्के दिउँसै सुटुक्क लक्ष्मीकहाँ टिभी हेर्न एक्लै एक्लै धाउँछ । उमेर पुगेकाहरू यो हल्लामा मजा लिन्थे र जिब्रो टोक्थे ।

त्यो साँझ पनि सबै जना टिभी हेर्न भेला भैसकेका थिए । फुर्के पनि त्यहाँ नहुने कुरै थिएन । फुर्के निकै फुर्के मुडमा देखियो । उसले आफू अडेस लागिरहेको टिभी कोठाको छेउमा भएको खाटमा निधार टेकाउँदै उक्त खाटलाई  ढोगेको नक्कल  गर्‍यो र सबैले सुनिने गरी छिल्लिँदै भन्यो

‘यो खाट, सारै लच्छिनको खाट गाँठे !’

टिभी हेर्ने जति जम्मै गलल हाँसे । उनीहरूले बुझे त्यो खाट किन लच्छिनको भनेर । लक्ष्मी बिचरी लाजले रातो न रातो  भई ।

लक्ष्मीको सानो स्कुले भाइले कुरा बुझेन र सोध्यो, ‘फुर्के दाइले के भन्नु भा ?’  कुनाबाट कसैको स्त्री आवाजमा जवाफ आयो,  ‘यो तिम्रो दिदी लछिमीको खाट हो रे, के बाबू !’

विचरा सानो भाइ सोच्दै थियो, ‘यसमा हाँस्नु पर्ने कुरा के छ त ? हो त, लछिमी दिदीकै खाट त हो !’