“मेरो कम्प्युटरको डिस्प्ले नै आएन बनाई दिनुहोस् न ?” सी.पी.यू टावर देखाउँदै  दिलकुमारले बालकुमारलाई अनुरोध गर्यो ।

बालकुमारले कम्प्युटरको क्याबिनेट खोल्यो र मदर बोडमा भएको सिमोस ब्याट्री र र्‍याम निकाल्यो अनि सफा कपडाले पुछेर फेरी वापस राख्यो । त्यस पछि उसले क्याबिनेट बन्द गर्यो ।

प्राविधिक ज्ञान नभएर होला दिलकुमार यो दृश्य वाल्ल परेर हेरिरहेको थियो । जब बालकुमारले क्याबिनेट बन्द गर्यो उसले पुनः “मेरो कम्प्युटरमा जरुरी काम गर्नु पर्ने छ, कृपया चाँडो बनाई दिनुहोस् न” भन्दै अनुनय विनय गर्न थाल्यो ।

दिलकुमारको अनुरोध सुनेपछि बालकुमारले हाँस्दै मनिटर जोड्यो र भन्यो, “तपाईंको कम्प्युटर बनिसक्यो ।”

नभन्दै उसले कम्प्युटर अन गर्ने बित्तिकै डिस्प्ले आइहाल्यो ।

यसरी कम्प्युटरमा एक दुई वटा सामान झिकेर पुछपाछ गरेर राख्दा कम्प्युटर बनेको देखेर दिलकुमार आश्चर्यचकित भयो ।

दिलकुमारले कम्प्युटर बनेकोमा खुशी व्यक्त गर्दै बालकुमारलाई “मर्मत खर्च कति दिनु ?” भनी सोध्यो ।

बालकुमारले “सामान फेर्नु नपरेकोले पारिश्रमिकको पाँच सय मात्र दिँदा हुन्छ” भन्यो ।

“नाथे सामान पुछेर राखेको, जम्मा पॉंच मिनेट काम गरेको पाँच सय रुपैयाँ ?” दिलकुमारले अचम्मित भावमा प्रश्न गर्यो।
बालकुमारले सटिक जवाफ दियो “सामान पुछेर राखेको त पॉंच रुपैयाँ मात्र हो तर तपाईंको डिस्प्ले नआएर बिग्रिएको कम्प्युटर कसरी बनाउने भनेर उपाय निकालेको चाहिँ चार सय पन्चानब्बे ।”

लन्डन, बेलायत