ती लेखिकाले सोध्नुभयो, “तपाईंको कथा पढें पत्रिकामा । छोटो, मीठो र मन छुने थियो तर अझै पढिरहन मन लाग्दै गर्दा सिद्धियो । किन त्यति छोटो कथा लेख्नुभएको ?”
मैले भनें, “लघुकथा छोटो नै हुन्छ । ‘अब के होला ? के होला ?’ भन्ने उत्सुकता जगाएर पाठकलाई केही क्षण विचार गर्न बाध्य बनाएपछि मात्र कथाको उत्तर आउँछ । अनि कथाको बीजले पाठकको हृदय छोयो भने मात्र त्यो लघुकथा बन्छ । म त्यही संरचनामा कथा लेखेकी हुँ ।”
मैले यिनै कुरा अर्की लेखिकालाई सुनाइरहेकी थिएँ । वहाँ पनि मेरो कथाको विषयवस्तु र भाव सुन्न उत्सुक बन्नुभयो र सोध्नुभयो—
“कस्तो विषय रहेछ त ? जसले ती लेखिकालाई आकर्षित बनायो ?”
म केही पल मौन भएँ । भनूँ कि नभनूँ ? भन्ने दुबिधामा परेँ । किनकि सबैको इतिहास तीतामीठा अनुभूति मिसिएको हुन्छ, जुन सजिलै भनिहाल्न पनि अप्ठ्यारो हुन्छ ।
वहाँको करकापपछि म कथासार भन्न बाध्य भएँ। तर मैले उल्टै उहाँलाई सोधेँ, “तपाईं भन्नुहोस्, तपाईं कसरी लेखिका बन्नुभयो ?”
वहाँले आफ्नो वृत्तान्त सुनाउनुभयो। त्यसपछि मैले पनि आफ्नो लघुकथा जन्मनुको स्रोत सुनाएँ, “मित्र, जो–कोही पनि कसैको दुर्वचनले या त मान्छे बन्छ, या त बिरक्तिएर गति छाड्छ । मेरो पनि त्यस्तै विगत थियो । कसैको वचनबाणले नै मैले कलम चलाउन शुरू गरेँ—जुन प्रतिभा माझ छिपिएको थियो ।”
मेरो भनाइले उहाँ अझ उत्सुक हुनुभयो, “भन्नुस् न साथी ! कस्तो वचनबाण थियो त्यो, जसले त्यो लघुकथा जन्मियो ?”
मलाई पनि भन्न कर लाग्यो । कारण यस्तो थियो—
एकपटक मेरी साथीको मुखबाट यस्तो वचन सुनेकी थिएँ— “मेरा अरू कस्ता–कस्ता (व्यंग्यात्मक शब्द) छन् । तँ त नाङ्लो चलाउन नजान्ने ! के गरिखान्छेस् यस घरमा ?”
म सधैँ डरले झुक्ने वहाँसँग । तर त्यो दिन मलाई केले साहस दिलायो, थाहा छैन— “मैले नाङ्लो चलाउन नजानुँला, तर म कलम चलाएर खान्छु !”
यस्तै शब्द अनायासै मेरो मुखबाट निस्कियो ।
त्यही ईखले आजसम्म मलाई लेखन–क्षेत्रमा टिकाइरहेको छ । त्यसैको आधारमा मैले “वचन बाणको ईख” शीर्षकमा लघुकथा लेखेकी थिएँ ।
त्यही कथा पढेपछि ती लेखिका प्रभावित हुनुभएको रहेछ ।
मेरो कथाको सार यसैमा निहित छ—
“कसैको दुर्वचन र वचनबाण पनि कहिलेकाहीँ जीवनको सही मार्गदर्शन बन्छ ।”
कथा सुनेपछि वहाँको उत्सुकता पनि मौनतामा विलीन भयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 










