साहित्यकार आचार्य प्रभाको ‘विधुर पुरुष’ लघुकथा संग्रह आज राजधानीमा एक समारोहबीच सार्वजनिक भएको छ।

संग्रहभित्र एक सय लघुकथा संग्रहित छन् । लघुकथा समाज नेपालका संस्थापक श्रीओम श्रेष्ठ रोदन, लघुकथा समाजका महासचिव सुमन सौरभ, साहित्यपोस्टका सम्पादक आश्विनी कोइराला र चलचित्र निर्देशक प्रकाश सायमीले कृतिको सार्वजनिक गर्नुभयो ।

चलचित्र निर्देशक प्रकाश सायमीले नारी हस्ताक्षर कम भएको बेला अभाव र संकटसँग जुझ्दै कृति ल्याएकोमा बधाई दिनुभयो । सायमीले लेखकले लिङ्ग, जाति, क्षेत्र र भूगोल कसैलाई चोट नपुर्‍याई लेख्न निकै सजग हुनुपर्ने बताउनुभयो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय पूर्व अध्यक्ष राधेश्याम लेकालीले नेपाली साहित्यमा डायोस्पोसरिक साहित्यकारले उल्लेख्य योगदान रहेको बताउनुभयो। उहाँले कथाकारले घरपरिवार र साहित्यलाई सँगसँगै अगाडि बढाएको पनि बताउनुभयो।

लघुकथा समाज नेपालका केन्द्रीय महासचिव सुमन सौरभले लघुकथाको अभियानमा लघुकथाकार खोज्दै हिंडिरहेको बेला कहिल्यै नपढेको र नसुनेको व्यक्तिको गहन कृति आउनु आफैंमा सुखद् पक्ष रहेको बताउनुभयो । उहाँले लघुकथा उत्कृष्ट विधा भइसकेको र समृद्धिको यात्रामा लागेको पनि बताउनुभयो।

लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले विदेश गएपछि धेरै सर्जक डलरमोहमा लागेर लेखनबाट हराउँदै गएकोमा कथाकार आचार्य प्रभा निरन्तर रूपमा लेखनमा लागिपरिरहनु भएको बताउनुभयो ।

रोदनले नेपाली लघुकथा स्थापित भइसकेकाले विदेशी विद्वानको परिभाषा रटिरहनुको औचित्य नभएको पनि बताउनुभयो। उहाँले भन्नुभयो, ‘नेपाली लघुकथाको आफ्नैपन छ। पूर्णप्रसाद ब्राह्मण, जगदीश नेपाल र जयनारायण गिरी हुँदै अगाडि बढेको लघुकथाको छुट्टै स्थान छ। हामीले ओझेल परेको संस्कृति र बिर्सिएको इतिहास समेट्दै आफ्नोपनमा रमाउनुपर्छ।’

कृतिकार आचार्य प्रभाले ‘विधुर पुरुष’ मार्फत् कथामा पुरुष पीडा बोल्न खोज्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुरुषको पनि आफ्नै पीडा हुन्छ, श्रीमती नहुँदा पुरुषमा कति असह्य पीडा हुन्छ भन्ने देखाउन कृतिको नामै विधुर पुरुष राखेकी हुँ।’

प्रमुख अतिथि भागिरथी श्रेष्ठले नेपाली साहित्यमा नारी हस्ताक्षर आउनु खुसीको कुरा रहेको बताउनुभयो ।

साहित्य पोस्टका सम्पादक तथा कार्यक्रमका सभाध्यक्ष आश्विनी कोइरालाले नेपाली साहित्यका उन्नयनका लागि साहित्य क्षेत्रका सबै खाले काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रम ममता मृदुलले सञ्चालन गर्नुभएको थियो ।