फूल फुल्ने सुन्दर बगैंचामा ढुङ्गा फल्न थालेपछि
स्वच्छ विचार सोच्ने दिमागहरू त्यसै गल्न थालेपछि
देश पनि कुनै दिन थाक्न बेर छैन यस्तै छाँट हो भने
स्वाभिमान र गौरव बोक्ने शिर त्यसै ढल्न थालेपछि।

मुख पड्काउनेहरूको जमात मात्र भए देशमा
मान्छे होइन बाँदरको जात मात्र भए देशमा
होहल्ला र जालसाजीमै बित्ने भए हर समयहरू
माथिङ्गल होइन गोबरको खात मात्र भए देशमा ।

जुधाउनु र लडाउनु नै मानिसहरूको खेल भयो
किन होला यो धरतीमा यतिबिघ्न जालझेल भयो
साँचो,सत्य के हो ? भनी बुझ्न खोज्नु मुर्खता रहेछ
मानिसबीच यति बिघ्न किन यस्तो अनमेल भयो ?