
आचार्य प्रभा
एयरपोर्टमा जहाज अवतरण भयो। छोरा, बुहारी फूलको बुक्के लिएर आमाको स्वागतमा एयरपोर्टमा पुगे। आमा केही क्षणपश्चात् नजिकै आई पुगिन्। छोरा-बुहारीलाई देखेर आमाको गह भरियो। तुरुक्क आँसु खसाउँदै “मेरो बाबु” भन्दै अँगालो मारिन्।
छोराले चाँही नाक खुम्च्याउँदै आमाको अँगालो स्वीकार गर्यो र प्याच्चै भन्यो, “कति महिना भो ननुहाको? कस्तो गन्ध आको? अरुको छेउमा चैं नजानू है !”
बुहारीले पनि टाढैबाट शीर निहुराउँदै भनी, “अब यहाँ गाउँको चालाले त हुँदैन नि आमा !”
एयरपोर्टबाट नै शुरु भो छोराबुहारीको विदेशी रवाफ। आमाले सम्झिन्, गाउँका छिमेकीहरुको व्यंग्य, “आमै, खुट्टा त उचाल्दैछ्यौ विदेश जान, सन्तान भेट्ने आशामा । खै! छोरा-बुहारीले चैँ कस्तो व्यवहार देखाउने हुन् !”
“अनि कोशेलीमा गुन्द्रुक,सिन्की पनि हाल्नु भो होला, फ्याँकिदेलान् नि हामी खाँदैनौं भनेर।”
“अब बसेकै ठाउँमा चिया,पानी बुहारीले ल्याइदेलिन्, गोडामा चिल्लो लाइदेलिन् भन्ने आशा चैं मनबाट निकालेर जानु नि !”
आमाले पनि उनीहरुलाई मुखभरिको जवाफ दिएकी थिइन्, “ए बाबा हो, के साह्रो मलाई लाटी नै सम्झेका हौ ? मलाई पनि थाहा छ नि गाउँजस्तो त्यहाँ हुँदैन भनेर । फेरि मेरो छोरो संस्कारी छ । उसले पनि आफ्नो संस्कार भुलेको छैन। बुहारीलाई पनि पक्कै सिकाएको होला ।”
“अँ… आश गर्नु, भर चैँ नपर्नु है ! कोही त सर्लक्कै बद्लिंदा रछन् विदेश पसेपछि ।”
अन्तिममा यस्तो जवाफ पनि पाएकी थिइन्।
आज उनी झल्झली सम्झिरहेकी छिन्, जब आमाले नातीलाई हातले दालभात मुछेर सपासप खुवाउँदै थिइन्। बुहारीले
आत्तिंदै भनी, “छ्या! छ्या! हात त धुनु भो ? अहिलेसम्म हातले खुवाएको थिएन। अब बानी बिगार्ने हुनु भो आमाले। गाउँको चलन अझै गएन हजुरको।
“नो नो नेल्शन डन्ट इट, डन्ट बि नट्टी,” इङ्ग्लिस पड्काउँदै छोरालाई लगी बुहारीले। आमा जिल्ल परिन्।
साँझमा छोरा कामबाट आइपुग्यो। उक्त खबर फोनबाट पुगी सकेको रहेछ। कोठामा पस्दै छोराले भनिहाल्यो, “हत्तेरी! आमा हजुरलाई कत्ति सम्झाउनु ? हजुरको गाउँले पारा छाडिदिनुहोस् भनेर । नेल्शनलाई हातैले खुवाउनु भएछ खाना। त्यस्तो चालाले हुँदैन है !”
केही दिनपछि उनीहरुका साथीहरुले आमासहित रात्रिभोजमा उनीहरुलाई निमन्त्रणा गरे । बाटाभरि छोराबुहारीले खानदेखि बस्न, पाइखाना पस्नसम्म पनि सिकाउँदै लगे। उनी पनि सतर्कता अप्नाउँदै पुगिन् तर….उनी चकित भइन् जब उनी त्यहाँ पुगिन्। उनीहरुको व्यवहार, संस्कार, बोलीचाली, छोराछोरीको नेपालीपन देखेर, सम्झिइन्, “विदेश पसेर ढर्रा पार्ने त मेरै सन्तान रहेछन्। खै! यो परिवारमा नेपालीपन, नेपाली पारा, नेपाली खानपान छ त ! यस्ता ढर्रावालाले नै पो विदेशमा बस्ने नेपालीको बेइज्जत गरेका रहेछन्। कसरी हिँड्नेबेलामा गाउँलेहरुले मेरो गिल्ला उडाएका थिए ? ‘एका बिराउने साखा पिराउने’ भनेको यही रहेछ।”
उता भित्र पसेर बुहारीले साथीलाई भन्दै थिई ।
“नीरा, लौ ! गुन्द्रुक, सिन्की खाउ है ? आमैले ल्याइछिन् । हामीलाई त चल्दैन यस्तो । घर नै दङदङी गन्हाउँछ,” बुहारीको भलाकुसारी सुनेर आम निस्तब्ध बनिन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 






