म कविता
कुन विषयमा लेखूँ ?
आजभोलि मान्छेका
मथिङ्गलहरूमा
कुनै कुराको महत्त्व छैन
न’त नाता सम्बन्ध
न’त रगतको साइनो
न’त भावनाको नै कदर
न’त समयलाई प्राथमिकता ?
बस्, मान्छे खोक्रो अभिमान लिएर
रोबर्ट बाँचिरहेछन्
त्यसैले म पनि उही मान्छे
म पनि कहाँ अछुत छु र ? यी गुणहरूबाट
मलाई लाज लाग्छ खोक्रो स्वाभिमानको
बोक्रे भावना पोख्न
अनि सगरमाथाको शिर बोकेर
टुकुचाको फोहोरको कविता लेख्न
अहँ, म लेख्न सक्दिनँ फिटिक्कै
उहिलेका कविहरूले झैँ
गोलो आकारलाई जून भन्न
ओइलिएको पत्करलाई
वास्नायुक्त फूलमा परिभाषित गर्न
म त उही आजको मान्छे
बरु सौन्दर्ययुक्त फूललाई
पत्कर भन्न उद्दत छु
चन्द्रमाको सानो धब्बालाई
कलङ्क देख्न सक्षम छु
हो, म रोबोट मान्छे अर्थात बुख्याँचा
जस्को मुटु छ भावना शून्य
जस्को मथिङ्गल छ सोच शून्य
त्यसैले म असमर्थ छु
यो विषयकै कविता लेख्छु भनेर आँट गर्न
र कुनै निर्जीव वस्तुलाई
कवि भावले ब्युँझाएर सजीव पार्न
कारण म आफैँ सास फेरेर पनि
मृतझैं बाँचेकी छु
यसैले त म आजको मान्छे।

(अमेरिका)