आचार्य प्रभा

न म ब्राह्मण
न शुद्र, न क्षेत्री
न हुँ म वैश्य नै
बस् मैले जानेको छु
आफूलाई मान्छे भनेर
अनि मानेको छु
कर्मलाई कर्तव्य
र… ठानेको छु
कर्तव्यलाई मानवता।
खै! कहाँ छ ?
सही पेशालाई घृणा गरेर
ठूला भएका मनुष्यहरु !
अनि…घृणित पेशा अँगालेर
स-सम्मान बाँचेकाहरु !
म बाहुन ठूलो जातमा विभाजित
तर…अँहँ ! छैन
मेरो विचारमा विभाजनको पर्खाल
अनि… जातपातको घेराबन्दी,
मेरो दिव्य दृष्टिले
समान देख्छन् सबलाई
को उच्च, को नीच ?
आखिर उभिनु छ एकै धर्तीको परिधिभित्र
पिउनुछ उही धर्तीको मूलको पानी
बाँच्नुछ सबैले उस्तै सतहमा
टेकेर उही माटोको मैदान।
र.. म कर्म गर्छु
जुनसुकै किन नहोस् ?
जो मान्छेलाई आफूमाथि निर्भर गराउँछ
जुन कर्मले आफूलाई स्वाभिमानी बनाउँछ
कथित भनिएका उपल्लो तहकाहरुले
विभाजन गरेर कहाँ खुल्छ
कामको सही अर्थ?
हुनुपर्छ आफूभित्र कला, शिल्प अनि जाँगर
अनि खट्नु पर्छ पौरख गर्न
तब हुन्छ सार्थकता
आफू महान् हुनुको आभाषको
तब हुन्छ कर्मशीलता आफू सक्षम हुनुको
त्यसैले हजुर हो,
म विभाजनमा परेको
ठूलो जात बाहुन
तर गर्छु कर्म यस्तै
जस्ले जे अर्थ लाउन्
म आफ्नो नाङ्गो ढाक्न आफैँ सक्षम छु
यदि मलाई कसैले दमाईमा
परिभाषित गरे पनि
हर्षित छु, सफल छु
अनि…,
गर्छु मित्रता फलामसँग
र…. खटट!!! सिउँछु कपडासँगै
मनका भ्वाङहरु
छोप्छु आफ्नो नाङ्गो आङ
कर्मलाई साक्षी राखेर।