उनीहरू एक बर्षदेखि मित्रतामा गाँसिएका थिए । फेसबुकको मित्रता यति गाढा बनिसकेको थियो कि, एकाअर्कालाई दिनमा अनलाइनमा एकचोटी नहेरी भोक,तिर्खा हराए झैं हुन्थे । भनौं फेसबुकको मित्रता गहिरो प्रेममा परिभाषित भएको थियो ।

एकदिन अरबिनले सुनितालाई प्रस्ताव राख्यो । “सुनिता अब कतिन्जेल हामी टाढाको माया जोगाएर बाँच्ने ? अब एक हुनु पर्छ ।“
सुनिता पनि अरबिनको मायामा पागल बनीसकेकी थिई । उसले पनि जवाफ दिई -“अरबिन अब मपनि तिमीबाट टाढा रहेर बाँच्न सक्दिन ।“

आखिर अरबिनले ढुक्क पारेकै थियो सुनितालाई । ऊ बैंकको जागिरे अनि आफ्नो बुवाको सम्पति पनि प्रशस्तै भएको एक्लो छोरा भनेर ।
सुनिता पनि हुनेखानेकै छोरी । ब्याचलर सकेर माष्टर्स पढ्ने तयारीमा थिई । उसो त उसलाई माग्न सम्पन्न परिवारका युवाहरू नआएका थिएनन् तर पनि उसले आमा र बाबालाई अरू पढ्ने ईच्छा जाहेर गरेकी थिई । आमाबाबा पनि छोरीको पढ्ने ईच्छाको गला घोट्न चाहँदैन थिए ।

सुनिता मीठो दिवास्वप्न पालेर अरबिनले भनेको ठाउँमा आफ्ना परिवारको आँखा छलेर गई । उनीहरूको एउटा सुन्दर घरमा भेट् भयो । सुनिता गद्गद भई । देख्दा अरबिन पनि कमको थिएन, ऊ मक्ख परी ।
भोलिपल्ट बिहान ओछ्यानमा अरबिन थिएन । उसले सोंची, केही लिन गयो होला । तर दिनभरिको प्रतीक्षा पश्चात् पनि ऊ फर्केन ।
साँझमा एउटी महिला नानी डोर्याउँदै आई र यसोउसो हेर्दै सोधी –“बैनी तँपाई जीवनकी श्रीमती हुनुहुन्छ? हिजो नानीको बाबाले,जीवन र उसकी श्रीमती बाहिर जानु परेकोले उनीहरूको घर दुई र तीन दिनलाई रुङ्ग्न जानु छ भनेर यहाँ आउनु भाथ्यो ।“

सुनिता छाँगाबाट खसी र सोधी –“यहाँले कसको कुरा गर्नु भएको अरबिनको ?“
“हो .अनि तपार्इँहरू ईमेर्जेन्सी परेर कतै जानु परेकोले ऊ घर रुङ्ग्न भनेर आएको थियो । उता मेरो माइतमा आमा सिकिस्त हुनु भएछ र म पनि जानु पर्यो । यतैबाट बिदा माँगुं भनेर आएकी । उक्त महिलाले भनी –
“सुनिता अकमक्क परेको देखेर उस्ले फेरि सोधी –“किन छक्क पर्नु भो ? के अरबिन यहाँ आउनु भएन?“
सुनिता असमन्जसमा परेकी देखेर उस्ले फेरि सोधी –“अरबिनले तपार्इँलाई पनि अन्यलाई जस्तै फेसबुक प्रेममा फँसाए कि क्या हो ?“
यो वाक्य सुन्नासाथ सुनिता थचक्क भुइँमा बसी र आमाबालाई सम्झिन थाली ।