घण्टे बहर मैदानमा निर्बाध उफ्री उफ्री नाचिरहेको थियो। घण्टीको तीव्र ध्वनिले आजित पाका गोरुहरू आ-आफ्ना गोठका बहरहरूलाई सरापिरहेका थिए ।

“बहरसँग जुध्न बहर पठायो भने जित्छ, भन्थ्यौ । नाप्यो त ? घण्टी देखेरै तर्सिएर मर्‍यो । बरु पाको गोरु पठा’को भए ….. ।” वृद्ध राते गोरुले भन्यो ।

“अँ आफूलाई खुब पाको ठान्छौ । अस्ति त्यहीँ बहरले खेदेर सुरुवाल भिजेको बिर्स्यौ । कम्तीमा बहर थिए र गोठसम्म आइपुगे । तिमी भएको भए त आर्यघाट .. ।” वृद्ध पाटे गोरु कुर्लियो ।

“भो भो ! धेरै चर्को नबोल । बोल्दाबोल्दै चिलिम फर्केला । बरु ठन्डा दिमागले सोच । यी घण्टे बहरको घण्टी कसरी बन्द गर्ने भनेर ।” वृद्ध काले गोरुले फ्वाँ फ्वाँ गर्दै भन्यो ।

“पहिले पनि सबै गोठ मिलेर घण्टे बहरलाई ठेगान लगाउन खोजेकै हो । यी फेरि डुक्रन थालिहाल्यो । बरु बुद्धिले काम लिऔँ । अब सिङ नार्न छोडौँ । आ-आफ्नो गोठ सुधारमा लागौँ ।” युवा सेते गोरुले मुख फोर्‍यो ।

“चुप लाग् पाजी ! पानी मरुवा । बहरबाट गोरु हुन पाएको छैन । हाम्रो अगाडि बोल्दोर’छ ए !” सबै वृद्ध गोरुले एक स्वरमा हपारे । सेते गोरु चुपचाप थुचुक्क बस्यो ।

“नसबन्दी” जारी बैठकमा एक वृद्ध गोरु एकाएक चिच्यायो । सबै उसको कुरामा सहमत भए । घण्टे बहरको नसबन्दी गरेर आफूजस्तै गोरु बनाउने निचोडमा पुगे । आजकल वृद्ध गोरुहरू घण्टे बहरको नसबन्दी गर्ने अस्पतालको खोजीमा छन् ।