हाम्रो नेताज्यु अरु जस्तो दुई पैसे व्यक्तित्व भएको नभई महान नेता हुनुहुन्छ । यसपालिकाे भन्दा अगाडि पनि उहाँले धेरै पल्ट चुनाव जितिसक्नु भएको छ।अरु बेला जन्मथलोलाई बिर्सिए पनि चुनावको बेला उहाँलाई यसकाे चौपट्टै याद आउँछ ।ठूलो नेता ठुलै काम भने झैं  उहाँ प्रचारप्रसारको लागि गाउँ आउन नभ्याए पनि आफ्नो गाउँ र गाउँलेलाई माया गर्दै मासुभात खाने खर्च कार्यकर्ताको हात बाँड्न पठाउनुहुन्छ ।
हामी पेटभरी खान नपाउनेलाई एकै दिन भए पनि मासु भात खान पाउँदा दसैँ  बिर्साइदिन्छ।अघिल्लो पटक र त्यो भन्दा अगाडि पनि गाउँमा स्कुल खोलिदिने वाचा गर्नु भएको थियो । जिल्लमा स्वास्थ चौकी पनि  केही खोलिदिन्छु भनेर भन्नू भएको थियो । विचरा ठूलो मान्छे, दस थरी जिम्मेवारी हुन्छ । आफूले बोलेको जति कुरा कसरी पुरा गर्न सक्नु ? विचरा नेताजी बिर्सनु भएछ ।यसपालि जिते पछि त पक्का  पक्का भनेर वचन दिनु भएको छ ।
चुनावको बेला नजिकिँदै आउँदा गाउँमा बसेको बैठकले यस्ता कुराहरुमा छलफल गर्यो । यसै बीच गाउँमा ती ठुला नेताको असी बर्षका बुबा जो मृगौला पीडित थिए  । शहरमा छोरासँगै बस्दथे । उनको मृत्यु भएको खबर आयो । उक्त खबरले गाउँमा शोक छायो । हाम्रा ठुला नेताका बुबाको मृत्युमा हामी शोक व्यक्त गर्दछौँ। उनी गाउँका ठुला समाजसेवी थिए । हामी हाम्रा सन्तान तिनै सन्त पुरुषको अन्न पानी खाएर बाँचेका हौँ। उनलाई हामी सहिद घोषणा गर्न माग गर्दछौँ ।यसकाे लागि हामी राजधानी गएर नारा जुलुस गर्दछौँ भन्दै हाम्रो अन्नदाता  सहिद  नेता चिरञ्जीवी बहादुर अमर रहून् । अमर सहिद जिन्दावाद ! भन्दै नारा घन्काउन थाले।