“बेढङ्गले उफ्रन्छ मोरो ! साह्रै इतरिएको छ।” गोपालमणि एक्लै बोल्दै रमाइरहेका थिए, बाख्राको पाठासँग ।

मेरो अभिवादनले ध्यान भङ्ग भयो उनको।अभिवादन फर्काउँदै बस्न आग्रह गरे।

पिँढीमा बिछ्याएको गुन्द्रीमा बसेँ।

बाख्रा पाठाको स्याहार, सुसारमा व्यस्त उनको मुहारमा आभा झल्कन्थ्यो।

हातखुट्टा धोए। श्रीमतीजीलाई दुई कप चियाको आग्रह गर्दै मलाई बैठक कक्षमा लिएर गए।

“हैन तपाईं जस्तो अब्बल साहित्यकारले आजकल किन लेखनलाई माया मार्नु भयो ? साहित्यिक कार्यक्रममा नदेखेको पनि धेरै भयो। पत्रपत्रिकामा तपाईंका सिर्जनाको रसास्वादन गर्न नपाएको पनि थुप्रै पो भयो त। त्यसैले न्यास्रो लागेर घरमै भेट्न आएको।” आउनाको तात्पर्य बताएँ मैले।

“खै के भनौँ बाबु, लेख्ने रहर नभएको त कहाँ हो र ? तर लेखनले मात्र मुखमा माड नलाग्ने रै’छ। च्यूरी चुसे झैँ अनुहार लिएर कहिले कता कहिले कता लखर लखर साहित्यिक कार्यक्रममा हिँड्यो।रचना सुनायो। वाहवाही त थुप्रै पाइने तर घर फर्कंदा परिवारमा खुसी थप्न नपाइने। त्यसैले अहिले घर गृहस्थीमै व्यस्त छु बाबु।” उनले पीडा पोखे।

“अनि लेखन चटक्कै छोड्नु भयो त ?” जिज्ञासा राखेँ।

“चटक्कै त कहाँ छोड्न सकिँदो रै’छ र ? लागेको बानी, दिमाग सकसकाइरहन्छ। ल हेर्नुस् त्यहीँ डायरीमा थुप्रिएका छन्। खालि प्रकाशनमा नपठाएको मात्र हुँ।” डायरीको चाङ देखाउँदै भने।

डायरीको चाङ नियाल्दा भित्ताको फ्रेममा आँखा पर्यो र सोधेँ, “हैन पाँच सय रुपैयाँ किन फ्रेम हालेर झुन्डाउनु भएको?”

“मेरो सिर्जनाको पहिलो पारिश्रमिक हो यो।आजकल त कतै पाइँदैन त्यसैले पनि पत्रपत्रिका, अनलाइनमा पठाउन छाडेँ।” उनले निरसिलो जवाफ फर्काए।