भूकम्प पीडितहरू बसेको ठाउँ, त्रिपाले सहर, रातले बिस्तारै साम्राज्य जमाउँदै छ । बाहिर मुटु नै छेड्ला जसरी सिरेटो चलिरहेको छ । आगो ताप्यो अगाडि तातो पछाडि भने चिसोले आधा शरीर छैन जस्तो बनाउने । राहतमा पाएको त्रिपालभित्र बस्यो कि शीत तपतप चुहिएर हैरान । पुण्यप्रसाद लामो सुस्केरा हाल्दै मनमनै भन्छन्, “भाग्यमा नै दुःख भोग्नु रै छ र । जाडो लाग्ने बेलामा नै भुँइचालो जानु पर्ने कमसेकम । गर्मीमा गएको भए त बरु शीत त पर्दैनथ्यो ।”

आङ तान्दै, “दाउरा पनि सकिन लागेछ, भोलिलाई खाई खर्च पनि छैन के गर्ने होला ? अरूले दिएको राहत कति दिन पो चल्छ । घरको भकारी माटोमा पुरियो । भोलि त मन्त्री आउने कुरो छ । अलिअलि राहत त आउला नि ?” मन अमिलो पार्दै बालबच्चातिर नजर लगाउँछन् । “मेरो त धन्न परिवार केही भएन । अरूको त परिवार पनि रहेन । प्राकृतिक विपत्तिसँग के लाग्दो रैछ र ? मान्छेको भाग्य यस्तै त रहेछ ।”

बिहान ११ बजेतिर मान्छेको हुल आयो । एकैछिनमा हेलिकोप्टर पनि आयो । मन्त्रीको हेलिकोप्टरले कैयौँ राहतका पाल उडाए पनि भूकम्प पीडितहरू केही पाउने आशामा पालतिर ध्यानै दिएनन् ।

मन्त्रीले राहतको घोषणा गरे । मन्त्रीसँगै गएकी मन्त्रीकी श्रीमती गम्भीर देखिन्थिन सायद सोच्दै थिइन होला भाग्यमा भए यसपालि राम्रै ठाउँमा घडेरी किन्नुपर्ला ।

मन्त्री गएपछि भूकम्प पीडितहरू खैलाबैला गर्दै अघि उडाएको त्रिपाल मिलाउन थाले । पल्लाघरे ठुला बा भन्दै थिए, “भाग्यले भूकम्पबाट ज्यान त जोगियो अब भाग्यमा भए राहत छिट्टै पाइएला र घर बनाइएला ।”

पुण्यप्रसाद पनि भाग्यलाई सराप्दै पालभित्र पस्यो । सोच्यो, “आजको रात कसरी कटाउने होला ? थुक्क ! मेरो भाग्य !”