“सर, नमस्कार ! हाम्रो पब्लिकेशनको वार्षिकोत्सवमा मैले उत्कृष्ट रिपोर्टरको पुरस्कार पाएँ । हजुरले हिमाली जिल्लाहरूको समाचार, अन्तरवार्ता र  विविध लेखरचना तयार पार्न मलाई धेरै सहयोग गर्नुभयो । कहिले झर्नुहुन्छ त तलतिर ? आउँदा भेट्नुहोला है !” फेसबुक मेसेन्जरमा पत्रकार बहिनीको म्यासेज आयो ।
“ल बधाई छ नानी ! म धेरै खुशी छु ।” मैले जबाफ पठाएँ ।

हिउँ पर्न थालेपछि तल अर्थात् छिमेकी जिल्ला झरियो र उनलाई भेटियो । उनले क्याफेमा गएर कुरा गर्न खोजिन् । गाह्रो मानी मानी म उनीसँगै गएँ ।

‘सर, तपाईं त इन्जिनियर भएर पनि साहित्य र पत्रकारितामा यति राम्रो दखल राख्नुहुँदो रहेछ । अरू जिल्लामा पनि यो काम गर्नुभएको थियो ?’ उनले जिज्ञासा राखिन् ।

‘हो, मैले ताप्लेजुङदेखि दार्चुलासम्मका ९ जिल्लामा यस्तो काम गरिसकेको छु । इन्जिनियरिङ मेरो पेशा र पत्रकारिता मेरो रुचि हो । हाम्रो अफिसले ‘दुर्गम क्षेत्रको गतिविधि’ नामक त्रैमासिक बुलेटिन निकाल्छ । त्यस्तै वार्षिक रूपमा ‘सुगम बन्दै छन् दुर्गम भेगहरू’ नामक डकुमेन्ट्री फिल्म पनि बनाउने गर्छ । त्यो काम हामी आफैँ मिलेर गर्छौं । अन्य संस्थाबाट भत्ता खाने गरी पत्रकार बन्न मिल्दैन ।’ मैले भनेँ ।

वेटरले रेन्बो ट्राउट माछा र हट लेमन लिएर आयो । एकछिन् सन्नाटा छायो । माछा खाइसकेपछि उनले झोलाबाट एउटा लक्जरी डायरी झिकेर दिंदै भनिन्, ‘खोल्नुस् त सर यो डायरी !’

डायरी खोल्नासाथ सङ्गीतको धुन बज्यो, ‘रेशम फिरिरि, रेशम फिरिरि, उडेर जाऊँ कि डाँडैमा भञ्ज्याङ । रेशम फिरिरि ।’

डायरीमा लेखिएको थियो, ‘लेख्ने हातहरू कहिल्यै नथाकुन् ।’ त्यो पढ्दा मेरा आँखा रसाए ।

उनले सोधिन्, ‘के भयो सर ?’

मैले भनेँ, ‘मेरो त एउटा मात्र हात छ, केवल दाहिने हात । त्यही हातले धेरैलाई पुरस्कार दिलाएको छ ।’

उनका आँखाबाट बररर आँसु झर्न थाले ।