“छ्या के हेरेको त्यसरी ? अरूले देखे के भन्लान ?” निक्कीले लजाउँदै भनी।

“एकैछिन पर्ख न। यसरी नै घण्टौँ हेरिरहन देऊ मलाई। जति हेर्दा पनि धित मर्दैन त।”दिप्सनले आशक्ति भाव प्रकट गर्यो।

“धित मरुन्जेल हेर्न त त्यो बेला हिम्मत गर्नु पर्थ्यो नि । अहिले पछुताएर के गर्छौ ? समय आउँछ पर्खंदैन, बगेको खोला फर्कंदैन त्यसै भनेको हो र ?” सान्त्वना दिँदै सम्झाउन खोजी निक्कीले।

“म विवश थिएँ निक्की। जातीय कुरा उठाएर मलाई घरमा बोल्न नसक्ने बनाए। मैले आवेशमा आएर विद्रोह गर्न सकिन। एकातिर मेरा आमाबाबु, मेरो परिवार, समाज थियो। अर्कोतिर तिमी र तिम्रो निर्मल प्रेम। साँच्चै त्यो बेला आत्महत्याको नजिक पुगेको थिएँ।”लाचारीपन प्रकट गर्यो दिप्सनले।

“जो नहुनु थियो भै सक्यो । अब तिमी तिम्रो बाटो लाग। राम्रोसँग घरजम गर, बस। म पनि समयको हुरीसँगै नियतिको जहाजमा जहाँ पुगिन्छ त्यतै जाने छु । अब चिन्ता गरेर केही हुँदैन, धैर्यता लेऊ।” ढाडस दिन खोजी निक्कीले।

“हैन निक्की, तिमी बिना बेचैन हुन्छु म। तिमीलाई यही देउरालीमा भेट्न सधैँ आइरहन्छु। मलाई छोडेर कतै नजाऊ। तिमी बिना म बाँच्न सक्दिन।”जिद्दी बालक जस्तै बोलिरह्यो दिप्सन।

“भावनामा डुबेर संसार चल्दैन लाटा। तिमीलाई प्रश्न उठाउने समाजले मलाई छोड्छ त ?”निक्कीको भरिएको आँखासँगै बोल्न खोजेको वाक्य हिक्काले घाँटीबाट बाहिर निस्कन दिएन।