चाडबाडको बेलामा हुनसक्ने सम्भावित अराजक गतिविधि नियन्त्रण गर्न अमूक सहरमा बिहान सबेरैदेखि प्रहरी परिचालन गरिएको थियो। यसैबिच नजिकैको मदिरालयबाट निस्केर एउटा अर्धचेत रक्स्याहा ड्युटीमा तैनाथ प्रहरी जवान अगाडि लरखराउँदै आयो र तथानाम बक्न थाल्यो।

-“मलाई चिनिस् ! म तेरो हाकिम हुँ। तँलाई हाकिम सामुन्ने हुँदा भुइँमा कसिलो बुट बजारेर सलाम ठोक्न सिकाएका छैनन् तालिममा ? मर्यादा भन्ने कुन चराको नाम हो, थाहै रैनछ ए गाँठे यसलाई त!”

ऊ धाराप्रवाह यसरी पोखिँदै थियो -“देश बिग्रेको यही कारणले हो बुझिस् ! के बुझिस् ? बुझ्न त गिदी चाहिन्छ ! गिदीको ठाउँमा लिदी भरिएपछि…… सत्यानाश ।” उसले अरू पनि केही बर्बरायो तर अमूर्त भाषामा।

प्रहरी जवानलाई रयाखरयाख्ती पारेपछि केही पर बर्दीमा रहेको प्रहरी कमान्डरतिर ऊ सोझियो । जिब्रो सकभर फट्कार्न खोज्दै ऊ बोल्यो- ” तिमी कमान्डर! आफू मातहतको जवानलाई अनुशासन सिकाउन सकेनौ ,हगि ? मलाई सलाम ठोकेन त्यसले ! अब उसको भाग समेत मिलाएर दुईपटक सलाम ठोक मलाई ! कि तिमीले पनि चिनेनौ मलाई ! म को हुँ,चिनाइदिम ?”

जँड्याहाको बेसुरे गफ सुनेर कमान्डर लामो समयसम्म मुस्कुराइ मात्र रह्यो । “मुस्कान सहितको सेवा”को आदर्शद्वारा जँड्याहालाई थामथुम पार्न सकेकोमा ऊ गर्वले चुलिँदै गएको थियो । बर्दीधारी प्रहरीलाई गलाएर “अवाक्” तुल्याउन सकेको अनुभूतिले जँड्याहा पनि आत्मगौरवमा रमाइरहेको देखिन्थ्यो!