“छोरी तिमीले विवाह गर्नै पर्छ ! तिम्रा गोडा धोएर तिमीलाई डोलीमा नचढाएसम्म मेरो प्राण नजाने भयो । “ क्यान्सरबाट पीडित बुबाले छोरीलाई ढिपी गरे ।

छोरीले बुबालाई त्यसो नभन्न अनुरोध गर्दै क्यान्सर प्राणघातक रोग नभएको भन्दै बुबालाई सुधार भइरहेको बताइन र बुबाको खुसीको लागि केटासँग कुरा गर्न राजी भइन ।

विवाहको औपचारिक प्रस्ताव लिएर केटा पक्षबाट आए । दुवै पक्षका अभिभावक विवाहको लागि मन्जुर भए । केटा केटीलाई अन्तिम निर्णयको लागि कुराकानी गर्ने चाँजो पाँजो मिलाइयो ।

“आमा बुबाको निर्णय मलाई त मन्जुर छ । प्रश्न भए निर्धक्क सोध्दा हुन्छ।” केटाले कुरो सुरु गर्यो ।  “मैले पनि आमा बुबाको कुरा कहिल्यै काटेकी छैन । हामीले जिन्दगी बिताउने हो । सानो कुरा सोध्छु । सधैँ टोपी लगाइराख्नु हुँदो रहेछ ! यो टोपी खोल्न मिल्छ? “

केटाले “किन नमिल्नु” भन्दै टोपी खोलेर देखाएको मात्र के थियो, केटी जुरुक्क उठेर बुबा नजिक गइन र सुटुक्क भनिन “बरु म जीवन भर कुमारी बस्छु तर यो तक्लुसँग विवाह गर्दिन”

बुबाका आँखा रसाए उनले भने “तिमीले उसको बाहिरी रूपलाई मात्र हेरेर ‘जज’ गरिछौ छोरी । उसको मन कति सुन्दर छ। तिमीलाई के थाहा? उ किन तक्लु भएको बुझ्ने प्रयास गर्यौ ?

आफ्नो रूप बिग्रिन्छ भन्ने जान्दाजान्दै म जस्तै क्यान्सर पीडितको लागि उसले कपाल दान गरेर तक्लु भएको हो ।”