सदा झैं आज पनि म पुगें । बाहिरै पाला र लड्डु बेच्ने मानिसको भीड दर्शनार्थी भन्दा बढी देखिन्थ्यो । चप्पल खोलेर बाहिर राखें र लाइनमा बसें ।

लाइन सुस्तसुस्त अगाडि बढ्दै थियो । यसैबीच एक जना वृद्ध सबैसँग हात थाप्दै, काँप्दै भन्दै थिए, “यतिको चीसो मौसममा हेर्नुहोस्, मलाई अलिकति दया गरेर केही सहयोग गर्नुहोस् ‌!”

भक्तजन कानमा तेल हालेझैं देखिन्थे । कसैले केही प्रतिक्रिया देखाएनन् । बरु “कस्तो माग्ने मन्दिरभित्र आएको छ्या ! डुङडुङ गन्हाइरहेको छ । बाहिर निकालौं ।” भन्ने आवाज आयो ।

मेरो धैर्यताको बाँध फुट्यो, “कस्तो कुरा गर्नुहुन्छ तपाईंहरू । यस्तो हेमन्तको ठिहिरोमा यसरी याचना गर्दै हिंड्ने कसैको रहर हुँदैन । सकिन्छ सहयोग गरौं, सकिंदैन चूप बसौं । यति पवित्र स्थानमा आएर हामीले मानवता बिर्सनुहुँदैन ।”

लाइनको बीचबाटै एकजनाको आवाज आयो, “ओहो ! उहाँ त निकै आदर्श छाट्नुहुँदो रहेछ । सक्नुहुन्छ भने आफ्नै घर लगेर पाल्नुहोस् न । हामी त केही दिदैनौं । यस्ता माग्नेलाई दिएर के साध्य ?”

मानिसको कलुषित भावलाई पखाल्न म केही सोच्दै थिएँ । तिनै वृद्ध, साक्षात् भगवान् गणेशमा परिवर्तन भई बोल्न थाले, “हे भक्तजन ! यति सबेरै धर्म गर्न आएका तिमीहरूमा के को घमण्ड हँ ? कलाकारले कोरेको पत्थरमा शिर झुकाएर र दक्षिणा चढाएर के को पुण्य कमाउँछौ ? वृद्ध, बालक र असहायको मुहारमा मुस्कान ल्याएर हेर त जीवनमा कति धर्म हुँदो रहेछ ?”