
असार पन्ध्रको दिन ! पानी सिमसिम परिरहेको छ, पानीका साथमा मधुरो घाम ! गाउँमा रोपाइँ महोत्सवको आयोजना गरिएको छ ।
पन्चै बाजाले उदयनगर टोलको रौनक थपिदिएको थियो । झन् ठूलठूलो आवाजमा बजिरहेको नरसिङाले त पूरै गाउँलाई रोपाइँमा आमन्त्रण गरिरहेको भान हुन्छ । धेरै सालपछि गाउँमा खुशी फर्किएको छ ! १२ वर्षे माओवादी जनयुद्धपछिको गाउँको पहिलो उत्सव ! वल्लोपल्लो टोलका मानिसहरूको पनि भिड लागेको छ । उपस्थितमध्ये धेरैजसो मानिस नौमती बाजाका साथमा नाच्नमै व्यस्त देखिन्छन् ।
हेर्दाहेर्दै सरकारी नम्बर प्लेटको गाडी बस्तीनजिकै आएर रोकिन्छ । गाडीमा हालसालै निर्वाचित नेताजी देखा पर्छन् । नेताजी टाईसुटमा ठाँटिएका छन् । गाउँमा नेताजीको भव्य स्वागत हुन्छ । उनी शुभकामना आदानप्रदानमै व्यस्त देखिन्छन् भने आयोजक संस्थाका केही व्यक्तिहरू भने उनको आदर सत्कारमा ।
नेताजीले त्यहाँ असार पन्ध्र र रोपाइँको महत्वका बारेमा बोल्छन् । नेपाल कृषि प्रधान देश भएकामा आफूलाई गर्वबोध भएको र यस दिनलाई आफूले ठूलो चाड ठान्ने गरेको बताउन पनि उनी पछि पर्दैनन् । उनको कुरा सुनेर सबैले ताली बजाउँछन् । भाषणपश्चात् नेताजी रोपाइँ महोत्सवमा भाग लिन्छन् । केही बेर रोपाइँमा सहभागी भएर उनी फर्किन्छन् ।
तर भरे मात्र थाहा हुन्छ कि नेताजीले त गम्बुट लाएर पो हिलामा पसेका रहेछन् । आयोजकले उनका लागि एक जोडी प्लास्टिकका गम्बुट खरिद गरेर ल्याएको रहेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

