“म यति रोइछैन, म यति रोइछैन

तिम्लेदेको जाले रुमाल, फाट्ला भनि धोइ छैन

खैरेनीको बन, नदुखाइदेउ कोमल मेरो मन ।”

ऊ अर्थात् एमुना बिकले लहडै लहडमा घाँस काट्न जाँदा गाएको माथिको गीत उनकै साथीले टिकटकमा अपलोड गरिदिए पछि गीत, एक लाख बढीले हेरेछन् । त्यसपछि उनको आँगनीमा युट्युबरको लर्को ।

युट्युबरले सुरु गरे, “हेर्नुस् त साथीहरू, आज हामीले अत्यन्त कोकिल स्वर भएकी, सुमधुर आवाजकी धनी एक दुर्गम गाउँबाट प्रतिभा खोजेर ल्याएका छौँ, पक्कै पनि उहाँको आवाजले अब दुनियाँ खाने छ, आउनुहोस् उहासंगै भलाकुसारी गरौँ ।”

“आज एकाएक भाइरल हुँदा तपाईंलाई कस्तो फिलिङ भै रा छ ?”

“यसरी भाइरल हुन्छु भन्ने सोच्नु भा थ्यो ?”

“तपाईंको आगामी योजना के छ ?”

अनायासै आएका यी प्रश्न एमुनाले कति बुझिन्, उत्तर उनले के दिइन्, उनलाई हेक्का छैन ।

केही दिनसम्म बधाई दिने र युट्युबेहरूको आगमन, उनको आँगनीमा भै रह्यो । एमुनालाई पनि संसार जिते जस्तै भयो ।

त्यसपछि सुनसान ।

महिना दिन पछि स्यालापाखाको बाटो हुँदै उनी अस्पताल जाँदै थिइन् । बाटो नजिकै सनिता परियारको घरमा एक हुल भिड देखिन् । नजिकै पुगेर हेरिन् ।

“आज एकाएक भाइरल हुँदा तपाईंलाई कस्तो फिलिङ्स भै रा छ ?”

“यसरी भाइरल हुन्छु भन्ने सोच्नु भा थ्यो ?”

“तपाईंको आगामी योजना के छ ?”

उही युट्युबर सनितालाई उही प्रश्न सोध्दै थिए, एक महिनाअघि आफूलाई सोधेका थिए ।

एमुना त्यहाँबाट हटेर सुनसान आफ्नो घरतिर नजर डुलाइन् । निकैबेर टोलाइन् र आफ्नो बाटो लागिन् ।