“ओए धने ! त्यहाँ हेर् त महेश सरको लुगा ! आज चार दिन भइसक्यो त्यो टिसर्ट लाउन थालेको ! कस्तो अप्ठेरो नलागेको होला है ?” दश कक्षामा सामाजिक शिक्षा पढाउने शिक्षकलाई खिसी गर्दै गिरिसले धनेसँग सुटुक्क भन्यो ।
‘महेश सर’ आफ्नै धुनमा पढाउँदै थिए । उनले गिरिस र धनेबिच भएको यो कुरा सुनेनन् । उनी आजको पाठ सकेर गृहकार्य दिने कुराको समेत छलफल गर्न चाहन्थे । यत्तिकैमा धनेले गिरिसको कुराको जवाफ फर्काउँदै बिस्तारै भन्यो, “के भो त ! लुगा सफा नै छ । राम्रोसँग बुझ्ने गरी पढाउनुहुन्छ । बोलीवचन र व्यवहार पनि राम्रो छ । योबाहेक अरू के चाहियो र ? आखिर सरले दिनदिनै फरक लुगा फेरेर लाए पनि के नै हुने हो र !”
कक्षामा पढाइबाहेक कहिलेकाहीँ केटाकेटीका बिचमा सर-म्यामहरूका बारेमा यस्तै कुराकानी हुने गर्थे । यस्ता कुराकानी हुँदा गिरिसले धेरैजसो महेश सरले एउटै खालका साधारण लुगा लाउनुको कारण उहाँको गरिबी हो भन्ने ठहर गरेर निकै होच्याउन खोज्थ्यो । तर, धेरैलाई यो कुरा मन पर्दैनथ्यो । उनीहरू भने सधैं सरकै पक्षबाट बोल्थे ।
स्कुलको पढाइ सकियो । परीक्षाको नतिजापछि कक्षाको त्यो टिम विभिन्न कलेजमा बाँडियो । कोही कता गए, कोही कता तर धने र गिरिसले महङ्गै भए पनि एउटै कलेजमा पढ्ने निधो गरे । केही वर्षहरू यसरी नै बिते । साँच्चै भन्नुपर्दा कटाकेटीले आफ्नै टिमलाई पनि बिर्सन थालिसकेका थिए । यस्तैमा एकदिन अचानक आफ्नो बिरामी साथीलाई भेटेर लिफ्टबाट ओर्लँदै गर्दा धने र महेश सरको भेट भयो । गिरिसका बाबु ठुलो दर्घटनामा परेर त्यही अस्पतालमा भर्ना भएको कुरा धनेले सरलाई सुनायो । सर वार्डमा पुगे । गिरिसको भएभरको सम्पत्ति बुबाको उपचारमा सिद्धिएको र बाँकी उपचार हुन नसकेको कुरा बुझे । अहिले उसलाई साथ र सहयोग दिने कोही नभएको कुरा पनि थाहा पाए ।
वार्डबाटै उनले आफ्नो त्यही अस्पतालमा कार्यरत आफ्नो पूर्वविद्यार्थी डा. मुकेशलाई बोलाए । सर र ती डाक्टर मिलेर बिरामीको सबै उपचार गर्न कुनै शुल्क नलाग्ने व्यवस्था मिलाइदिए । साथै चेकमार्फत् उनले गिरिसलाई त्यहाँ आवश्यक पर्ने रकमको व्यवस्था गरिदिए । म भोलि भेट्न आउँछु भन्दै सर त्यहाँबाट निस्के । गिरिस भुइँमा थचक्क बस्यो । आफूजस्तै पूर्वविद्यार्थी मुकेश र आफूलार्इ दाँज्यो अनि आज पनि उस्तै पुरानो टिसर्ट लगाएका महान् व्यक्ति : ‘महेश सर’को हृदय र आफूले उनलाई हिजो गरेको व्यवहार सम्झेर डाँको छोडेर रोयो । वार्डका बिरामी र तिनका कुरुवा हरेकोहेर्‍यै भए । वार्डमा सन्नाटा छायो ।