‘सुन न बुढी छोराले उत्कृष्ट अङ्क ल्याएछ एसइईमा’ भन्दै हस्याङफस्याङ गर्दै घरमा आयो ।

बेलुका मिठो मसिनो खाएर खुसी  साटासाट गर्नु  पर्छ भन्दै  छरछिमेकती बोलाएर खुसी मनाए ।

बुढीले बुढोलाई भनी, “अब हाम्रो छोरा ठुलो मान्छे भयो हैन । यो गाउँमा सबैभन्दा राम्रो गर्याे । हाम्रो नाकै राख्यो धन्य छ ।”
बिहानै उठेर  छोरोले भन्यो, “बाबा ! म विज्ञान पढ्ने हो अब आज परीक्षा दिन जान्छु।”
बाआमा झन् खुसी भए । परीक्षा दियो । परीक्षामा नाम पनि निस्क्यो । सोचे अब मेरा छोरो  ठुलै हुने भयो ।

तीन दिनपछि छोराले भन्यो, “बाबा ! अब भर्ना हुनको लागि दस लाख रुपैयाँ बुझाउनु पर्छ। ”

बाआमा दुवैलाई छाँगाबाट खसे जस्तै भयो ।

“मैले दस लाख अब कहाँबाट ल्याउने हँ बुढी” भन्दै थिए बुढा, “गरिब हुनु पनि कस्तो विडम्बना ।”

बुढीले गुनासो गरिन्, “बरु फेल भए राम्रो हुने थियो । यसरी दुःखी त हुनु पर्ने थिएन होला । तल्लो घरको दाइलाई आनन्द छ छोरा फेल भएकोमा । हामी भने उत्कृष्ट हुँदा पनि दुखी बन्नु परेको छ ।”