यमलाल बाजेले पछिल्ला दिनमा धर्मकर्मका कुरामा अलि बढी नै चासो राख्न थालेका थिए । यो लोकमा जतिसुकै भौतिक उन्नति गरे पनि परलोक सुधार्न पूजापाठ तथा तीर्थव्रतमा दान-दक्षिणा गर्नुपर्छ भनेर उनले त्यतातिर पनि ध्यान दिएकै थिए ।
उनी सत्कर्मले स्वर्ग गइन्छ भन्ने कुरामा विश्वास राख्थे । युधिष्ठिर जिउँदै स्वर्ग गएको कथा पनि सुनेका थिए । आफ्ना दौँतरीहरू रोगले थला परेको देख्दा उनी आफू भने रोगव्याधि नलाग्दै फ्याट्टै स्वर्ग जान पाए उनीहरूको जस्तो पीडा त हुने थिएन भन्दै घोरिन्थे ।
उनको धर्मकर्मको लेखाजोखा विधाताले गरेका रहेछन् क्यार ! असारको महिना थियो । छोराबुहारी खेतमा गएका थिए । यही मौकामा वस्तुभाउलाई घाँस काटेर दिन्छु भन्दै बाजे हातमा हँसिया बोकेर आँगनमा पुगेका मात्रै के थिए, त्यहाँ उनका अगाडि हठात् एउटा विमान आएर रोकियो । इन्द्रजस्तै देखिने एक जना चालक विमानबाट ओर्लेर त्यहाँ सजाइएको आसन देखाउँदै भने, “हजुर यहाँ बस्नुहोस् ।”
यो सुनेर बुढा अक्क न बक्क परे । कुनै निर्णय नै गर्न नसकी अवाक् भए । उनलाई सपनाझैँ लाग्यो । एकाएक श्रीमती सम्झे, आउँदो मङ्सिरमा हुने नातिको बिहे सम्झे, दुःखले कमाएको धन-सम्पत्ति र वैभव सम्झे ।
उनको यस्तो अवस्था देखेर उक्त दिव्य विमान झलल्ल बल्दै अकासियो र गायब भयो । शरीर थरर्र काम्यो । बुढा भुइँमा थचक्क बसे ।
र सोचे – सोचाइमा स्वर्ग जान जति सजिलो भएपनि यथार्थमा गाह्रो रहेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ पुष २०८२, मंगलवार 








