गजक्क दाजु आफ्नै नाम जस्तो हुनुहुन्छ । तराजुमै जोखिएको जस्तो सानो र गम्भीर हाँसो हाँस्नुहुन्छ । कति तौलिएको हाँसो भने प्रायः मानिसहरूले वहाँले एक ‘हा’ गरेर, र केही अत्यन्तै भाग्यमानीहरूले मात्रै ‘हा हा’ सहितको दुई हा गरेर वहाँ हाँसेको देख्ने मौका पाएका छन् । गफ गर्दा अनुहारमा गम्भीरता पोतेर पूर्वराजाको स्टाइलमा बेलाबेला ‘अँ, बुझें’ भन्नु वहाँको अर्को विशेषता हो । अरू विषयलाई सामान्य र हल्काफुल्का मान्छेले मात्रै गर्ने गफ ठानेर गजक्क दाजु भूराजनीति, परराष्ट्र नीति, अर्थतन्त्र, रक्षानीति आदि विषयमा सकभर आफैंले मन्तव्य राख्न र कहिलेकाहीं अरूले बोलेको सुन्न रुचाउनु हुन्छ । सिनेमा, साहित्य, गीत सङ्गीतमा गजक्क दाजुका उच्च स्तरीय र विशेष्ठिकृत रुचि सामान्य मानिसको मगजले नभ्याउने हुनाले यी विषयमा मानिसहरूसँग गजक्क दाजु खासै गफ गर्न रुचाउनु हुन्न ।
गजक्क दाजुले पहिले कसैलाई नमस्ते गर्ने कुरै आउँदैन । अरूले नमस्ते गर्दै बोल्न आएपछि बल्ल उसको हालखबर सोध्नुहुन्छ ।
विभिन्न जमघटमा दाजुसँग भएका मेरा विगतका चार भेटहरू तल उल्लेख गरेको छु ।
१. पहिलो भेट
गजक्क दाजुलाई गम्भीर चिन्तनमा एक्लै डुब्दै गरेको देखें । ओहो, गजक्क दाजु जस्तो मान्छेलाई नमस्ते गर्न पाउनु पनि ठूलै भाग्य लिएर जन्मिएको हुनुपर्छ । गएर नमस्ते ठोकिहालें । दाजुले नमस्ते फर्काउँदै गम्भीर स्वरमा “अनि सञ्चै हुनुहुन्छ ? परिवारमा के कसो छ ? भनेर सोधनी भयो । म धन्य भएँ ।
२. दोश्रो भेट
दाजु केही मानिसहरूसँग गम्भीर विमर्शमा हुनुहुन्थ्यो । आँट गरेरै गएर नमस्ते ठोकिहालेँ । दाजुले नमस्ते फर्काउँदै गम्भीर स्वरमा “अनि सञ्चै हुनुहुन्छ? परिवारमा के कसो छ?” भनेर सोधनी भयो । म फेरि धन्य भएँ ।
३. तेस्रो भेट
यो जमघटमा मैले दाजुलाई परबाट देखें र दाजुले पनि देख्नुभयो । यस पटक मैले दाजुलाई नमस्ते नगर्ने विचार गरेँ र शायद दाँत नै देखिने गरी मुस्काएँ मात्रै । तर बिना कुनै नमस्ते मुस्कान मात्रैको सुक्खा आदानप्रदान सामान्यजनको कर्म भएकोले यस्तो सञ्चार कर्म गर्नु गजक्क दाजुको सिद्धान्त विपरीत हुनजान्थ्यो । मेरो मुस्कानको गुलाफ मबाट उड्दै गएर गजक्क दाजुसम्म नपुगी बीच बाटोमै भुइँमा फत्रक्कै खस्यो । दाजुले मुस्कान फर्काउनु भएन । मैले अर्कैतिर हेरे जसरी आँखाको एउटा कुनाबाट हेर्दा गजक्क दाजु अधीर भएर नमस्ते पर्खिएर बेलाबेला मलाई नै हेरेको देखें । फेरि गजक्क दाजुतिर फर्केर हेर्दा दाजुले फेरि मतर्फको दिशामा हेरे पनि मलाई नदेखे झैँ गर्नुभयो । नमस्ते तराजुको एउटा पल्लामा दाजुको अधीर पर्खाइले र अर्को पल्लामा मेरो अटेरीपनले तराजुको काँटा ढलपल गरिरह्यो । आखिर नमस्ते नगरेरै यो जमघटबाट म घर आइपुगें ।
४.चौथो भेट
यो जमघटमा मैले दाजुलाई परबाट देखें र दाजुले पनि देख्नुभयो । विगतका तीन भेटले गजक्क दाजु मेरो नियन्त्रणमा आए झैं मलाई लाग्यो । कस्तो भने मैले एक नमस्तेको भरमा दाजुलाई मेरो हालचाल सोध्ने यन्त्रमा परिणत गर्न सक्थें । मलाई दाजुले हालखबर सोधेको मन नलागेको बेलामा दाजुलाई नमस्ते नगरेर चुप लगाउन सक्थें । यो परीक्षण गजक्क दाजुमाथि फेरि गर्न मन लाग्यो । सरासर गएर नमस्ते ठोकिहालें । दाजुले नमस्ते फर्काउँदै गम्भीर स्वरमा “अनि सँचै हुनुहुन्छ ? परिवारमा के कसो छ ?” भनेर सोधनी भयो । म फेरि धन्य भएँ ।
यो पटक दाजुलाई सोधें, “दाजु मानिस अरूको नियन्त्रणमा रहनु कत्तिको राम्रो हो ?”
गम्भीर स्वरमा गजक्क दाजुले भन्नुभयो, “मानिस स्वतन्त्र प्राणी हो । मानिस अरूको नियन्त्रणमा रहनु बिलकुल ठीक होइन, भाइ !”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 









