दुई गिलासजति स्वाट्ट पिइसकेपछि सुकुटी चपाउँदै नियमित ग्राहकले आफूसित लिएर आएको साथीलाई देखाउँदै रक्सी पसलको मालिकनीलाई सोध्छ, “बहिनी उहाँलाई चिन्नुहुन्छ ?” “अँह, चिनिन त दाजु !” भन्दै त्यो नयाँ ग्राहकलाई राम्ररी ठिम्याउँछे । नियमित ग्राहकले मुख बनाउँदै भन्छ, “उहाँ त भयङ्कर कलाकार हुनुहुन्छ नि ! उहाँले गीत लेख्नुहुन्छ, सङ्गीत भर्नुहुन्छ अनि गाउनु पनि हुन्छ । उहाँले बनाएका गीतहरू सुन्यौ भने तिमी उहाँसितै पोइमा जाइपठाउँछौ नि !”

“हो र ! त्यसो भए एउटा मौलिक गीत गाउनुहोस् न !” भन्दै एउटा कुर्सी तानेर खुसी हुँदै उनीहरूको छेउमा बस्छे । गिलासमा रहेको अन्तिम घुट्की रित्याउँदै त्यो कलाकार मान्छेले भन्छ, “गाउँछु तर बहिनी नाच्नुहुन्छ भने मात्र !”

“त्यसो भए नगाउनुहोस्” भन्दै पसले बहिनी रिसाएको जस्तो गरी कुर्सीसितै अर्को कोठाभित्र पस्छे । नियमित ग्राहकले आँखा झिमझिम गर्दै भन्छ, “अँ, ननाच बहिनी, उहाँसित नाच्न सकिँदैन, उहाँ त बबाल नाच्छन् नि !” त्यसपछि उसले साथीलाई एउटा आँखा झिम्काउँदै भन्छ, “सङ्गीतकार महोदय, उहाँ बहिनी चाहिँ हाम्रो गाउँको लास्टै राम्री बहिनी हो नी फेरि !”

एक घण्टाजस्तो त्यहाँ बसिसकेपछि उनीहरू त्यहाँबाट निस्कन्छन् । बाहिर निस्केर त्यो कलाकार मान्छे सिधै नालीतिर जान्छ र घाँटीमा औँला हालेर उल्टी गर्न थाल्छ । त्यसरी आफूहरूलाई अलिक हलुङ बनाइसकेपछि दुवै अङ्गालो हालेर गाउँदै त्यहाँबाट ओरालो लाग्छन् । आँगनको डिलमा उभेर पसले बहिनीले उनीहरूलाई अलिक तलसम्म हेरिपठाउँदै आफैँलाई भन्छे, “यिनीहरू यति बेलातिर कहाँ चिहानतिर गएका होलान् !”

इगम खालिङ (दार्जीलिङ)

निकै तल पुगेपछि त्यो कलाकार मान्छे चुप लागेर हिँड्न थाल्छ । उनीहरू हिँडिरहेको गाउँदेखि अलिक तल एउटा पुरानो चिहान डाँडा छ । त्यहीँ चिहान डाँडामा पुगेर त्यो कलाकार मान्छे एउटा चिहानअघि ठिङ्ग उभिन्छ । उसको पछिपछि आउँदै गरेको साथी जब त्यहाँ आइपुग्छ तब उसले कोटको भित्री गोजीबाट एउटा सेतो गुलाबको फूल निकालेर चिहानमाथि राख्दै भन्छ, “हेर त प्रिये, तिमीलाई मनपर्ने सेतो गुलाबको फूल ल्याइदिएको छु, मलाई ‘ह्याप्पी एनिभर्सरी’ पनि भन्दैनौ !” आँखाबाट आँसु बरर झार्दै फेरि भन्छ, “म रुँदैरुदिनँ, यो त पानी हो !” त्यसपछि ऊ आफैँसित हाँसेर राल-सिँगान हुन्छ । साथीले त्यो ठाउँ उसको गाउँको चिहान डाँडा होइन भनेर सम्झाइदिँदा पो ऊ झसङ्ग हुन्छ । त्यसपछि त्यो सेतो गुलाबको फूल त्यो चिहानमाथिबाट उठाएर फेरि त्यही कोटको भित्री गोजीमा हालेर त्यहाँबाट निस्कन्छ ।

अलिक माथिको सिरुबारीमा केही समय सुतेपछि उनीहरू त्यही रक्सी पसलमा नै पुग्छन् । ढोकाबाहिरबाट बोलाको बोलाकै गरेर पसले बहिनीलाई उठ्न कर लगाउँछ । पसले बहिनी ढोका खोलेर किन मान्छेलाई यसरी दु:ख दिएको भनेर रिसाउँछे । त्यो कलाकार मान्छे हतारिँदै पसले बहिनीको अघि ठिङ्ग उभिन्छ र त्यो कोटभित्रबाट गुलाबको फूल निकालेर उसलाई दिन्छ । पसले बहिनीले फेरि रिसाउँदै भन्छे, “यो रातो गुलाब किन ?” त्यो कलाकार मान्छेले यो त रातो होइन सेतो गुलाब हो मात्रै भन्न आँटेको थियो कि नियमित ग्राहकले उसको मुख हातले थुनिदिँदै भन्छ, “यसको मतलब दुई बोतल रातो रक्सी हो । दुई बोतल रक्सी देऊ बहिनी, हामी पिएर जाइहाल्छौँ ।”

तीन बोतलजति रक्सी पिइसकेपछि त्यो कलाकार मान्छेले दोकाने बहिनीलाई गीत सुनिदिने आग्रह गर्दै सोध्छ, “बहिनी, म तपाईंलाई मैले अहिले भर्खरै मात्र रचेको गीतको सानो एक टुक्रा सुनाउन चहान्छु, सुन्नुहुन्छ ?” दोकाने बहिनीले आँखा माड्दै भन्छ, “हुन्छ तर गीत सुनाई सकेपछि यहाँबाट जाइहाल्नुहोस् ल, बिहान हुनै लाग्यो ।” उसले उज्यालो अनुहार बनाएर गाउन थाल्छ,

“कहाँ छौ ?

कहाँ छौ तिमी ?

ढिलो नगर,

जसरी भए पनि आइदेऊ,

आउँदै-आएनौ भने म त मरिदिन्छु यसरी !”

त्यति गाइसके पछि त्यो कलाकार मान्छे त्यहाँ भुइँमा घुप्लुक्क लड्छ र त्यहाँ नै निदाई पठाउँछ । दुई घण्टापछि उसको फोन कराको कराको गर्छ र ऊ ब्यूँझिपठाउँछ । फोनमा उसको सानो छोराले रुँदै सोध्छ, “पापा ! तपाईं कहाँ हुनुहुन्छ ?”

घर फर्किएको एक हप्तापछि त्यो कलाकार मान्छेलाई त्यो सेतो गुलाबको झसङ्ग याद आउँछ । बजाउँदै गरेको भाइलिनलाई भुइँमा नै राखेर उसले ब्यागबाट त्यो कोट निकाल्छ र कोटको भित्री गोजीमा हेर्छ—त्यो सेतो गुलाब जस्ताको तस्तै त्यहीँ रहेछ । त्यो गुलाबलाई छातीमा राखेर लामो सास लिँदै सोध्छ, “कहाँ छौ तिमी ?”