विदेशबाट फर्किए पछि धनेले गाउँमै परम्परागत रूपमा पालिरहेको बाख्रालाई आधुनिकीकरण र व्यवसायीकरण गर्यो ।

बाख्रा पालेको सुरुको वर्ष धनेलाई त्यति फापेन । ब्याउने चार/ पाँच ओटा बाख्राको गर्भ तुहियो । एक दुई ओटा बाख्रा रोग ले मरे पनि ।

व्यावसायिक  रूपमा बाख्रा पाल्नुअघि बाख्राले राम्रै दिएको थियो तर विदेशको लामो बसाइलाई त्यागेर ऋण धन गरी बाख्रा पालेको धनेले साहुको ऋण तिर्नु त परको कुरा घर चलाउन पनि मुस्किल भएको थियो ।

उसको घरमा २० वर्षको छोरा १६ वर्षकी छोरी, श्रीमती अनि वृद्ध  बुवा सबै जना चिन्तित थिए।

“खै राम्रो बार, दिन नहेराई  त्यतिकै नयाँ खोरमा बाख्रा हालेर हो कि ?” धनेकी श्रीमतीले शङ्का काटिन ।

“दिन बार सार केही हैन यिनी खोरमा बाख्रालाई चिसो हुने रहिछ त्यसैले हो । ”  खाटमा दाम्लो बाट्दै गरेका धनेका बुवाले छोरा बुहारी तिर पुलुक्क

हेर्दै भने।

“दबैको मेसो पनि पारेकै छु, डक्टरको सल्लाह पनि लिएकै छु, यत्रो वर्ष  बाख्रा पाल्दा यस्तो कहिल्यै भएन, खै के भएको ? भाग्य नै यस्तै हो केही गर्दा नि साथ दिन्न ।” धनेको श्रीमतीले पुर्पुरोमा हात राख्दै भुनभुनाइन् ।

यस्तै गाउँमा सल्लाह लिउँदा कसैले चिसोले हो भने, कसैले राम्रो दिन नहेराएर भने, कसैले भगवानसँग माफी माग्न भने, कसैले ग्रह कटाउन भने ।

त्यस्तै  एक जना गाउँको वृद्ध बुवा आउनुभयो र छेवैको खसी देखेर भन्नुभो,  “खसी त ठुलो राम्रो रहिछ तर यस्तो कम्मरे खसी किन पालेको  सबै बाख्रालाई मास्छ यसले ।”

“यिनका आमाछोरालाई यो कम्मरे खसी हटाउन भनेको हो, यिनका आमा छोराले कहाँ मान्छन् र सबै यसैले गर्दा मरेका हुन् ।” बाख्रालाई घाँस हाल्दै गरेको धने फतफतियो ।

र त्यस दिन कोही बोलेर कोही नबोलेर त्यही अलच्छिनी कम्मरे खसीले गर्दा नै यस्तो भएको करिब करिब निष्कर्षमा पुगे।

धनेको छोरा टुलुटुलु  सबैका कुरा सुनिरहेको थियो । ऊ न त बुवा आमाको कुरालाई समर्थन गरेको थियो न त विरोध नै गर्न सकेको थियो ।

वास्तवमा जन्मेको एक महिनामा नै उक्त खसी बेच्न बुवाआमा तम्सेका थिए तर त्यति बेला धनेको छोरा उक्त अन्धविश्वास विरुद्ध विद्रोह गरेकाले उक्त खसी बचेको थियो ।

तर त्यो विद्रोही धनेको छोरा अहिले एकाएक निरीह र कमजोर बनेको छ, केही बोल्न र विरोध गर्न त परको कुरा ऊ आफै पनि सबैको कुरा सुन्दा सुन्दा र वर्षमा यति धेरै बाख्रा बाट क्षति भएको आफ्नै आँखाले देख्दा उसलाई पनि कताकता लाग्न थालिसकेछ, “कतै यही खसीले गर्दा नै साँच्चै हो कि !