गैराचोरको मैदानमा भलिबल खेल रोकियो ।
गाउँका ठिटाहरू प्रायः हरेक साँझ यही मैदानमा जुटेर भलिबल खेल्थे । गाउँका वृद्धावृद्धहरू पनि गैराचौरको चौतारीमा जुटेर भलाकुसारी गर्थे । साँझ हुने भलिबल खेल हेरेर रमाउँथे ।
गाउँमा कोदो काट्ने, स्याहार्ने बेला पनि यही हो । अर्मपर्म गरेर बालिनाली लगाउने, भित्र्याउने गाउँको परम्परा नै हो । यस पटक भने विगतदेखि गर्दै आएको पर्म प्रथामा सङ्कट उत्पन्न भयो । कोदो झुरिएर झर्नै आँट्यो तर खेताला पाउनै मुस्किल छ।
भर्खर सम्पन्न संसदीय चुनावले गाउँलेहरूमा तिक्तता बढाएको छ । चुनाव प्रचारको क्रममा त्यस राति भएको झडपमा युवाहरू घाइते समेत भए । त्यसैले एउटै मैदानमा सँगै खेल्ने युवाहरूको बोली बाराबार छ ।
आफ्नो गाउँको यो भयावह स्थिति नियालिरहेका सुवेदारबालाई मनमा चसक्क घोच्यो।
`हेर त तिम्रा नेताहरू बधाई, शुभकामना साटासाट गर्दै टपक्क भैसके । यता तिमी दाजुभाइ,छरछिमेकमा यो बोली बाराबार ! आखिर मर्दापर्दा काम लाग्ने त गाउँलेहरू नै हो नि । बाहिरको कोही आएर सघाइदिने हैन क्यारे । त्यसैले मेरो कुरा मान । एउटा सहभोज आयोजना गरौँ । जम्मै जुट,खाऔँ ,रमाइलो गरौँ । एकापसको तुस पखालौँ ।´ सुबेदारबाले प्रस्ताव गरे।
सुबेदारबाको अगुवाइमा गैराचौरमै भोज आयोजना भयो । सबैले खाइपिइ गरी नाचगान गरे, रमाए ।
`अब आइन्दा चुनावको नाममा निकृष्ट गालीगलौँज, झैझगडा गर्ने छैनौँ ।अलगअलग राजनैतिक आस्था भए पनि गाउँको एकतामा खलल पर्न दिने छैनौँ ।´ सबैले सामूहिक प्रतिबद्धता व्यक्त गरे।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।