“मन्त्री ज्यू स्वयम विवाहको प्रस्ताव लिएर आउनु भएको छ, हामी कसरी नाइँ भन्न सक्छौँ ? हामी छोरी दिन तयार छौँ ?” केटी पक्षले हरियो बत्ती देखाए ।
“मन्त्री ज्यू नभन्नुहोस् ! हामी साथी थियौँ अब सम्धी-सम्धिनी हुँदै छौँ । हाम्रो तर्फबाट त पक्का छँदै थियो । अब छोरा-छोरीको पनि राय पो बुझ्ने हो कि ? जिन्दगी उनीहरूले बिताउने हो ? कि कसो सम्धी-सम्धिनी ज्यू ?” मन्त्रीले चुरो कुरो ठट्यौली पारामा भने।
केटा-केटीलाई एकान्तमा बोल्ने वातावरण मिलाइयो । दुवै परिवार केटा-केटीले मन्जुरी दिन्छन् भन्नेमा ढुक्क थिए । कुराकानी सकेर केटा-केटी आए ।
“हामीले अहिले विवाह नगर्ने निर्णय गर्यौं। एक दुई वर्ष हामी पढ्ने, आफ्नो खुट्टामा उभिने अनि मात्र विवाहको बारेमा सोच्नेमा हामी दुवैको सहमति भयो।” केटाले भन्यो ।
केटीले साथ दिँदै भनिन्, “हजुरहरूलाई चोट पुर्याउने हाम्रो उद्देश्य होइन, हामीलाई माफ गरिदिनु होला।”
केटाले यो निर्णयमा पुग्नुमा केटीको कुनै दोष नभएको बताउँदै उनलाई दोष नदिन केटी पक्षलाई अनुरोध गर्यो । केटाका बा-आमाले किन छोराले यसो भनिरहेको छ बुझ्नै सकेनन् ।
आफ्नो छोरी मन्त्रीको बुहारी भएको हेर्ने सपना बुनिसकेका केटीका बा-आमा रिसले आगो भइसकेका थिए तर केटाले छोरीको दोष छैन भनेको सम्झेर टोलाइरहे।
आमाले भनिन्, “राम्रो कुटुम्ब उम्काएर तिमीले ठुलो भुल गर्यौ छोरी । तिमीले पछुताउनु पर्ने छ ।”
छोरीले गहभरि आँसु पार्दै जवाफ दिइन्, “म अहिले पछुताइरहेकी छु । अघि केटालाई भनेको कुरा मैले बेलैमा हजुरहरूलाई भनेको भए यो दिन देख्नु पर्ने थिएन ।आज मेरो हिम्मत बढेको छ म सत्य कुरा भन्छु । मेरो कुनै पनि केटासँग विवाह हुन सक्दैन किनकि, म बाहिरी रूपमा केटी भए पनि भित्री रूपमा केटा हुँ !”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।