रामपाल मिजार फोनमा कड्किँदै छन्, “तपाईँहरू यस्तो गम्भीर कुरालाई हल्का रूपमा लिनुहुन्छ भन्ने मैले सोचेको सम्म थिएन । यो त गल्ती होइन सिधै अपराध हो तर तपाईँहरू अझ पीडक कै पक्ष लागेर बोल्दै हुनुहुन्छ ?” यति भनेर फोन काट्दिन्छन् । उताबाट फोन आइरहन्छ तर उठाउँदैनन् ।
त्यतिकैमा पल्लो गाउँकी धना विश्वकर्मा आइपुग्छिन् । उनी दुखी मुद्रामा छिन् । रामपाल मिजारलाई नमस्कार गर्दै मुढा तानेर बस्छिन् र बेलिबिस्तार लगाउँछिन्, “मैले केही बिराएको छैन दाइ । धारो त सबैको साझा हो नि । भरिएको गाग्री निकालेर आफ्नो गाग्री थापेको निहुँमा कुजात, सानो जातको सानै बेउरा, मान्छे भेला गरेर डाँडो कटाउँछु भन्दै तथानाम गाली गरेपछि सहन सकिन र मैले बोलीले प्रतिवाद गरेँ । वहाँका आफन्तहरू भेला भएर मलाई कुटपिट गर्नुभयो । अब म के गरूँ दाइ ?”
सम्बन्धित निकायमा जाने आश्वासन लिएर धना घर फर्किन्छिन् ।
साँझपख पार्टीका पालिका स्तरका केही नेताहरू रामपालको घरमा आइपुग्छन्, “फोन पनि उठाउनुभएन रामपाल जी ? त्यति सानो घटनालाई लिएर मुद्दा दर्ता गर्न लाग्दै हुनुहुन्छ रे ? तपाईँ गल्ती गर्दै हुनुहुन्छ रामपाल जी ।”
प्रत्युत्तरमा रामपाल भन्छन्, “जातको आधारमा कसैलाई विभेद गरिन्छ भने त्यो अपराध हो । अनि समाजमा यस्ता अपराधीहरू बढे भने समाज त अपराधी उत्पादन गर्ने थलो बन्छ । त्यसैले सम्बन्धित निकायलाई सूचित गर्नु नै हाम्रो कर्तव्य हुन आउँछ ।”
एक नेताले फकाउन खोज्दै छन्, “तपाईँको भनाइमा शतप्रतिशत सहमत छु तर कुरा के छ भने धना बैनीको झगडा जो सँग भएको छ नि वहाँ पनि हाम्रै पार्टीको सक्रिय सदस्य । फेरी आगामी स्थानीय चुनावमा तपाईँलाई वडाध्यक्षको टिकट दिने लगभग पक्कापक्की छ । धना बैनी अर्कै पार्टीकी हुन् । जे जसो गरेर भए पनि आफ्नो पार्टीको लागि केही त गर्नुपर्यो रामपाल जी । माथिको निर्देशन पनि त्यही छ । बाँकी तपाईँको हातमा – भावी वडाध्यक्ष बन्ने कि मुद्दातिर जाने ।” यति भन्दै लाग्छन् सबै जना ।
भोलीपल्ट बिहान रामपालले फोन गर्छन्, “नेता ज्यु नमस्कार ! धना बैनीलाई खाने बाघले मलाई पनि एकदिन अवश्य खानेछ । पार्टीभन्दा माथि आफ्नो परिवार र समुदायलाई राख्दै तपाईँहरूले दिएको अवसर तपाईँहरूलाई नै फिर्ता गर्दै पीडितको पक्षबाट सम्बन्धित निकायमा जाने हिम्मत गर्दछु । धन्यवाद !”
फोन काट्छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।