आज पनि चियापसलमा गिरिनाथका ज्वाइँकै चर्चा चल्यो । यस्तो चर्चा सुनेपछि नवराजको मनमा एक चोटि गिरिनाथका ज्वाइँलाई भेट्ने इच्छा जाग्यो । भोलि गिरिनाथसँगै उनको घरमा जाने निश्चय गरेर नवराज लुरुलुरु घर फर्के ।

गिरिनाथकी छोरीको सरकारी जागीर थियो । माइतीनजीकै सरुवा भएपछि उनी श्रीमान्‌सहित माइतीमा बस्थिन् । उनका श्रीमान् रूप, गुण, पढाइ सबैमा अब्बल भए पनि उनले बाआमाको रोजाइलाई लत्त्याएर आफै बिहे गरेकाले घरबाट एक्लिएका थिए ।

चिया खान जाने क्रममा पल्लो गाउँका गिरिनाथसँग नवराजको चिनजान भएको थियो । उनी पनि नवराजजस्तै अवकाशप्राप्त कर्मचारी थिए । उनको छोरो अस्ट्रेलियातिर पलायन भएपछि छोरीले नै उनलाई छोरासरह सेवा गरेकी थिइन् ।

यता नवराजका बुढाबुढी पनि अवकाशपछिको निरस जीवन बिताउँदै थिए । उनलाई बेलैमा छोरी जन्माउन नसकेकोमा पछुतो भएको थियो । जन्माई हुर्काई पढाएर शहर पठाएको एक मात्र छोरो कमाउने उमेर भएर पनि शहरमा कुनै केटीको पछि लागेर बरालिएको र उतै बिहे गरेको थाहा पाएपछि उनीहरूले रीसको झोकमा छोरासँग नाता तोडेर घरसर बेचेर अलि टाढा गई बसेका थिए ।

यही क्रममा नयाँ साथी बनेका गिरिनाथको घरमा बस्ने असल ज्वाइँका बारेमा सुनेका हुनाले नवराज आज त्यतै जाँदै थिए ।

घमाइलो र हरियाली गाउँको पुरानो घर वास्तुकलाको नमूना नै थियो । चिटिक्क परेको त्यो घरनजिकैको गोठमा दुहुना गाईवस्तु र केही बाख्राहरू पनि पालिएका थिए । घर पुग्नासथ गिरिनाथकी जहानले बाहिर निस्केर नमस्कार गरिन् र खाटमा बस्न अनुरोध गरिन् । बेलुकाको दूध दोएपछि ताजा दूधको चिया खाने योजना बन्यो । ढिला भएछ भने हजुरलाई अलि परसम्म छाड्न ज्वाइँराजा गइसिन्छ भन्दै उनी भित्र पसिन् । त्यतिबेलै बाल्टिनभरि दूध बोकेर आँगनमा एक जना युवक देखिए । गिरिनाथले ‘उहाँ नै हो, मेरा ज्वाइँ’ भनेर परिचय गराउन नपाउँदै नवराजले उनका ज्वाइँलाई चिनिसकेका थिए । नवराजले एकाएक जताततै अँध्यारो देख्न थाले घप्लक्क भुइँमा ढले ।

ती ज्वाइँले बिरामी नवराजलाई जुरुक्कै उठाएर तुलसीको मठतिर लगे । उनको शरीर लुलो भइसकेको थियो । चिसिँदै गरेको नवराजको शरीरलाई अँगालो हालेर उनी रुन थाले । अचानक घटेको यो घटना र ज्वाइँको यो अवस्था देखेर गिरिनाथ हेरेकोहेर्‍यै भए ।