“यसपालि त सबै ठिक छ, त्यसैले कुनै गुनासो सुन्न नपर्ला !” खाना पकाइसकेर ठसठस कन्दै नारनप्रसाद एक्लै भुनभुनाउने गर्थ्याे ।
महिनाकाे तीनचार दिन भान्छे बन्नुपर्दा लोग्ने नारनलाई नर्क पुगेजस्तो हुन्थ्यो । कारण यौटै थियो : मीठो भएन भनेर बाटुलीले किचकिच गर्नु ।
एक मनले भन्थ्यो, यी तीन दिन त अफिसै नगई बिदामै बसेर जानेजतिका परिकार बनाएर खुवाऊँ र जान्ने कहलिऊँ ! फेरि मन मान्दैनथ्यो ।
कहिले त “किन बार्नुपरेको होला यो महिनावारी ?” भन्दै पड्किन्थ्यो अनि गाउँमा बस्ने एकदमै कडा मिजासकी आफ्नै संस्कारी आमाको डरले फेरि लुतुक्क पर्थ्यो । बजारबाट केही ल्याएर छाक टार्न खोजे पनि सानी छोरीलाई सञ्चो गर्दैन कि भन्ने पिरले खुम्चिन्थ्यो । यताबाट श्रीमतीले “हजुरलाई तीन दिन पकाउँदा यस्तो हुन्छ है ! खै, हामीले त महिनाभर मिठै पकाएर खुवाउँछौँ ” भन्ने अझ कडा वाक्य सुन्दा नारनलाई आफू पाक-कलामा साँच्चै अयोग्य रहेछु भन्ने लागे पनि ऊ हार्न भने चाहँदैनथ्यो ।
आज ऊ बिहान पाँच बजेबाटै भान्छाको तरखरमा लाग्यो । अफिस पनि समयमै पुग्नु थियो । हिजो नै काटेर फ्रिजमा राखेको तरकारी पकायो । चामल भिजाएर कुकरको बिर्को लगायो । दाल पनि झान्यो । चटनी पनि बनायो । दाल, तरकारी र चटनीमा नुन, पिरो, अमिलो सबै जाँचेर ऊ आफै मख्ख प-यो ।
खाना खाने बेला भयो । सानी छोरी र आफूलाई डाइनिङ टेबलमा अनि बाटुलीलाई चाहिँ भुइँमै बस्ने व्यवस्था मिलायो । अफिसको युनिफर्म लगाइसकेकाले अलि सतर्क भएर घडी हेर्दै भात पस्किन चुल्हामा पुग्यो । तीनवटै कचौरामा अघि झानेको मिठो दाल हाल्यो । ससाना प्लेटमा अचार राख्यो । तरकारी पनि थालकै छेउका राखेर भात पस्किन भन्दै हतारहतार कुकुरको बिर्को खोल्यो ।
कुकरमा भात थिएन । चामल र चौलानी मात्रै देखेपछि ऊ खिन्न भयो । आमाछोरीतर्फ यसो मुन्टो घुमायो ।
छोरीको हातको चम्चा अनि पलेटी मारेर खाने तयारीमा बसेकी बाटुलीको गोरो अनुहार हेरिरह्याे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।