मौसम धेरै राम्रो छ । वसन्तको आगमनले उल्लास भरेको छ । टाढाबाट नियालिरहेको समयलाई मौसम मन पर्न थालिन् । समयले मौसमलाई

ममता मृदुल
प्रेम प्रस्ताव राख्याे । सम्झाउँदा पनि समयले मानेन । जिद्दी गरिरह्यो ।
जस्तो अवस्थामा पनि साथ नछाड्ने वाचा गरिरह्यो । मौसमले आफ्नो समस्या बताउँदा पनि मानेन । पछि लागिरह्यो ।
मौसमले मनमनै सोचिन्, “ठीक छ । प्रेम गर्नु पाप होइन ।”
घरिघरि मौसम डराइरहेकी थिइन्, कहीँ गल्ती भएको त छैन । समयले सम्झाउन छाडेन फकाइरह्यो ।
मौसम एकनास कहाँ हुन्छ ।
हिउँद सकिएर वर्षा सुरु भयो । समयलाई वर्षा मन परेन । उसले मौसमलाई वसन्तजस्तै हुन भन्यो ।
“कसरी हुन्छ ?” मौसमले विरोध गरिन् ।
उसले घुर्की देखायो । निहुँ खोज्यो ।
अन्तमा मौसमले जे भने पनि मानिन । मौसमले अचम्म मानिन् । मौन बसिन् ।
मौसम परिवर्तन भैरहेको छ । फेरि वसन्त आएको छ । टाढाबाट हेर्न नछाड्ने समयले आफैँलाई धिक्कार्नुको विकल्प छैन । समयले मनमनै सोच्यो । अहंभावले म मौसमसँग रिसाएँ । मौसम परिवर्तन हुन्छ भन्ने थाहा नहुनेले किन प्रेम गर्छु भनेर मरिहत्ते गर्नु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 









