
“तपाईंले यस्ता सुन्दर कविता लेख्न सक्नुको राज के होला ?” नवराजले एक अन्तर्वार्तामा नवललाई प्रश्न गरेका थिए ।
नवल र नवराजको प्रत्यक्ष भेट नभए पनि उनीहरू एक आपसमा अप्रत्यक्ष रूपमा परिचित थिए । साहित्यमा रुचि नै नभएको नवलले छोटो समयमा कविता लेख्नु र चर्चा कमाउनु नवराजका लागि आश्चर्यको विषय थियो । त्यही कारणले साहित्यिक पत्रकार नवराजलाई नवलको कविता लेखन र चर्चाप्रति शंका लागिरहेको थियो । शंकाको निवारणका लागि नै उनले यो अन्तर्वार्ताको चाँजोपाँजो मिलाएका थिए ।
‘आहा ! कति सुन्दर कविता !’ भन्ने वाक्य सबैको मुखमा आउँथ्यो, जब कसैले नवलको कविता पढ्थे । सामाजिक सञ्जाल उनकै चर्चा छताछुल्ल थियो । टिकटक, रिल र यूट्युबहरूमा उनको कविताका भिडियो लाखौँ पल्ट हेरिएका थिए । चर्चाको चुचुरोमा पुगेको नवललाई त्यो प्रश्न नवराजले सोधेको भए पनि यसले धेरैको जिज्ञासाको प्रतिनिधित्व गरेको थियो ।
नवलले सहज रूपमा जवाफ दिए, “यो कविता मैले आफै लेखेको होइन, च्याट जिपिटी द्वारा लेखिएको हो ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

