“मलाई कति माया गर्छ्यौ ?” नेत्रप्रसादले सोधे ।
उनी मुसुक्क मुस्कुराइन् । नेत्रप्रसाद भावविह्वल भए ।
हो उनी साँच्चिकै सुन्दर थिइन् । अझ नेत्रप्रसादको लागि त अझ विशेष थिइन् । यसरी भेट्न पनि दुईचार वर्ष नै कुर्नुपर्यो ।
“तिमीलाई मसँग हिंड्न कति रमाइलो भएको छ ?” नेत्र प्रसादजीका प्रश्नहरूले निरन्तरता पाइरहेका थिए ।
हरेक प्रश्नको जवाफ उनी मुस्कानले दिन्थिन् ।
उनका पनि केही जिज्ञासा सोधाइहरू थिए तर नेत्रप्रसादले पनि हाँसेर जवाफ दिन्थे । यसरी नै चलिरहेको थियो उनीहरूको बिहानीको हिंडाइ । माछापुच्छ्रे सफा देखिएको थियो । लालुपातेको रंगले स्वर्गीय आनन्द दिएको थियो । नेत्रप्रसादजीलाई भने सबैभन्दा सुन्दर उनको मुस्कान लागिरहेको थियो ।
“संसारका सबै मान्छेले बुझ्ने एउटै मात्र भाषा भएको भए नि हुने नि ।” मुस्कानले मात्र भावना साट्नु परेकोमा नेत्रप्रसादजीमा भाषागत विविधता देखेर अलिकति रिस पनि उठ्यो ।
शायद उनी पनि त्यस्तै सोच्दै थिइन् होला ।
“अब धेरै थाक्यौ होला नि है ?” नेत्रप्रसादजीले सोधे ।
बुझेर हो कसो हो उनी पनि त्यहीँ पसल बाहिरको बेन्चमा बसिन् ।
बाटो पारिको चियापसलमा उनीहरूको बारेमा कुरा गरेको सुनियो, “बिहे पछि तुरुन्तै अमेरिका गएका छोराबुहारी बल्ल अहिले आए, नेत्रप्रसाद बाले जतिसुकै बेला नातिनीलाई मात्र बोकेर हिंडेका छन् ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 









