माता तीर्थ औँसीको दिन थियो। एक वृद्ध आमाको मन खुसी थियो। आश्रमको गेटतिर नयनहरूले कसैलाई कुरिरहेको थिए। लामो समयको पर्खाइपश्चात् कोही आउँदैनन् भन्ने निश्चित भएपछि अनुमति मागेर  बुढीआमा वृद्धाश्रमबाट छोराको घर पुग्नुभएछ।

छोरा बुहारी दुवैले ढोका खोले।

छोरा- किन आयौ ? केही काम थियो ? वृद्धाश्रममा नबसेर ? के भयो ?

आमा- आज तिम्रो सारै याद आयो छोरा। तिमी आज त पक्कै आउँछौ होला भनेर निकै बेर कुरेँ। कामको व्यस्तताले होला भनेर तिमीलाई दुख दिन मन भएन। फेसबुक तिर मेरो फोटो हालेर प्यारी आमा माता तीर्थ औँसीको शुभकामना भनेर राखेका रहेछौ।उता वृद्धाश्रममा सरले देखाउँदै हुनुहुन्थ्यो। मन थाम्न नसकेर आफैँ तिमीलाई भेट्न आएँ बाबु ।

छोरा- अनि के भो त ?

आमा- खुसी लाग्यो। देखाउन कै लागि भए पनि मेरो फोटो त मोबाइलमा राखेका रहेछौ नि। अँ साँच्ची आज बिहानै आश्रममा यो ऊनको टोपी बाँड्न आएका थिए मनकारी मान्छेहरू। तिमीलाई सानोमा यस्तो टोपी खुबै मन मन पर्थ्यो नि। त्यसैले तिमीलाई  ल्याइदिएको।

छोरा – म किनेर लगाइहाल्थेँ नि। खोइ ल्याऊ यता। भित्र आऊ कसरी भन्नु ? बुहारीलाई माइत पुर्याउन ढिलो भइसक्यो। उनलाई पनि त आमाको मुख हेर्नु पर्यो नि। पछि फुर्सद मिलेमा उतै आश्रम तिरै आउँला। अनि आश्रम हिँडेरै जान्छौ कि कारमा पुर्याइदिम्?

आमा(बुहारीतिर हेर्दै)- पर्दैन। हिँडेरै जान्छु। सुखी रहेस्। अनि बुहारी, नातिले तिम्रो मुख हेर्यो होला नि है ? पछि मै जस्तो तिमी चाहिँ छोरा बुहारीलाई भेट्न जान नपरोस्। माता तीर्थ औँसीको तिमीलाई धेरै धेरै शुभकामना बुहारी।

नाति- हजुरआमा ! हजुरआमा ! हजुर बस्नुभएकोमा ठाउँमा लगेर बाबा ममीलाई कहिले राख्नुपर्छ ?

एक छिन सन्नाटा छाउँछ। उत्तर कसैबाट आउँदैन।