“आमा ! मलाई किन पक्षपात ?” जेठोले भन्यो ।

“किन त्यसो भन्छस् छोरा,” आमाले चित्त दुखाइन् ।

“मलाई र भाइलाई जन्माउँदा तपाईँलाई उत्ति नै कष्ट भएको थियो हैन र ? कि मैले धेरै दुःख दिएर जन्मिएँ ?” जेठोले आमालाई असन्तुष्टिको पोको खोल्यो ।

कान्छाले धैर्यता टुटायो र बोल्यो,“दाजु ! तपाईँलाई सम्पत्ति नपुगेको भए कुन खेत, बारी वा घर चाहिन्छ ? भन्नुहोस् म दिन तयार छु, तर यस्तो कुरा गर्न तपाईँलाई सुहाउँदैन ।”

“हामी छुट्टिँदा पनि आधाआधा गर्ने भनेकै थियौँ । भएन पाँच वर्ष भइसक्यो । मैले चैँ कति धैर्य गर्नु ? के म अधिकारबाट वञ्चित भएकै हुँ त ?”

“कुनै पनि हालतमा तपाईँको प्रस्ताव स्वीकार्य छैन दाजु ।”

दाजुभाइ छुट्टिए पछि आमालाई कसले पाल्ने भन्ने विषयमा लामो समय देखि विवाद चलिरहेको थियो । आज वारपार गर्ने उद्देश्यले दाजुभाइमा चर्काचर्की भइरहेको थियो ।

“हेर भाइ,  आमा माथि तेरो र मेरो बराबर अधिकार छ ।”
आमाले मुख खोलिन्,“त्यसे भए दुबै जना मिलेर अर्को घर बनाओ र दुवै भाइ सँगै बस, अनि म पनि दुवै भाइसँगै हुन्छु ।”

जेठी बुहारीले पनि मुस्कानका साथ भनिन्, “दुई भाइ मात्र हो र ? हामी दुई बुहारी पनि… ।”