कुनै आश्चर्यको कुरा भएन । हाम्रो देशमा वर्ष, डेढ वर्षमा भै रहन्छ ।

सरकार फेरियो । प्रधानमन्त्री, मन्त्री नयाँ बने ।

नयाँ पनि के भन्नु ? ‘रक्सी पुरानै, बोतल नयाँ’ भने जस्तै ।

शपथग्रहण भयो । पदवहाली गरेकै भोलिपल्ट प्रधानमन्त्रीले सचिवहरूको बैठक बोलाए ।

“अब पुरानो ढर्राले हुन्न । केही नयाँ गर्नुपर्छ । यो भएन, त्यो भएन म जान्दिन । हो, ऐन नियमावली नयाँ बन्न सकेका छैनन्, पुरानै छन् । त्यो जग जाहेर छ । त्यो संसद्को काम हो । बन्दै गर्छन् । तर तपाईंहरूको कुनै बहानाबाजी मलाई सुन्नु नपरोस् । मलाई परिणाम चाहिन्छ ।” कडा निर्देशन साथ उनी कड्किए ।

अर्को दिन सचिवहरूले मातहतका विभागीय प्रमुखहरू, निर्देशकहरूको बैठक बोलाए । प्रधानमन्त्रीको निर्देशन सुनाउँदै अझ कडा रूपमा प्रस्तुत भए ।

विभागीय प्रमुखहरू, निर्देशकहरूले पनि त्यसैगरी आफू मातहतकालाई झन् झन् कडा निर्देशन दिए । परिणाम दिन नसके कार्य सम्पादन मूल्याङ्कन बिगारिदिने, बढुवा रोकिदिने समेत चेतावनी दिए ।

बैठक सकेर बाहिरिने क्रममा भूपध्वजले जीवनारायणसँग साउती मार्दै भने, “अहिले सम्म त निर्देशन नपाएर पो विकासले गति लिन नसकेको । अब त छलाङ मार्ने भो नि साथी !”