दुई थोपा ज्ञान पिउन
ज्ञानकुञ्ज हिँडेको छोरो
बाटैमा सुन्यो नयाँ नेपालको शङ्खघोष।
सयौँ युवाहरू मागिरहेथे
रोजगारीसहितको एक सुनिश्चित भविष्य
भ्रष्टाचाररहित सुशासन एवं सुव्यवस्था
समृद्ध नेपाल र सुखी नेपाली।

जुन वर्षौंदेखि
नारा बनाएको थियो सरकारले
कार्यान्वयन गरेको थिएन कत्ति पनि।
आश्वासन बाँडिरहेको थियो युगौँदेखि
नतिजा आएको थिएन कत्ति पनि।
केवल कुशासनका हिमायती
मुठीभर हजुरबाहरू
रजाईँ गरिरहेका थिए
कहिले आलोपालो मिलाएर
कहिले गठबन्धन गरेर त
कहिले ठगबन्धनमा बाँधिएर।
लुटिरहेका थिए नेपाल आमालाई
सात पुस्तालाई पुग्ने कुम्ल्याएर
मस्ती गरिरहेका थिए
जनताको रगत-पसिनामा।

देख्न सकेन युवा मस्तिष्कले
टुलुटुलु हेर्न सकेन भविष्यको कर्णधारले।
स्वतस्फूर्त बगायो अन्तर्राष्ट्रिय लहरले पनि
अगाडि बढ्यो
युवा जमातको शान्तिपूर्ण उपस्थिति।
हेर्दाहेर्दै
मिसिन थाले स्वार्थका काला धब्बाहरू
थुप्रै भए धमिलो पानीमा माछा मार्नेहरू
बर्सिन थाले घुसपैठका जत्थाहरू
पड्किन थाले सार्पसुटरका कर्तुतहरू।

नतिजा
ढल्न थाले निर्दोष कलिला सन्ततिहरू
जो नेपाल आमा हँसाउन हिँडेका थिए
सुव्यवस्था बसाउन लागिपरेका थिए।
बलिदान दिए आफ्नो प्राण मातृभूमिलाई
र अस्ताए सधैँ-सधैँका लागि।

एउटा गम्भीर प्रश्न,
यो कालो दिनले
भोलि सुनौलो बिहान ल्याउन सक्ला त?
मुर्छा परेर रोएकी ती वीर सहिदकी आमा
नेपाल आमा हाँसेको देखेर
मुसुक्क हाँस्ने दिन आउला त?
आफ्नो सन्तान गुमाएर
उसको एउटा जुत्ता मात्र भेटेकी आमाले
देश गन्तव्यमा पुगेको देख्न पाउलिन् त?
समृद्ध नेपाल सुखी नेपालीको धुन गुञ्जिएको
नेपाली जनताले अनुभूति गर्न पाउलान् त?
वीर सपूतहरूको प्राण उत्सर्जनले न्याय पाउला त?