इन्दिरा चापागाईं

भारतमा मजदुरी गर्न गएको र कोरोना कहरले मजदूरी गुमेपछि दुःखी भएको बिर्खे अखिर पत्नी र चार वर्षे छोरीसहित स्वदेश फर्काइयो । हिँड्ने बेलामा उसलाई मुटुरोगी पत्नीको औषधि समेत किन्न नदिई सुरक्षाकर्मीले बलपूर्वक सीमावारि ल्याएर छाडे तथापि स्वदेशको माटो टेक्न पाएकोमा भने ऊ खुशी नै भयो ।

झापा छिर्नेबित्तिकै क्वारेन्टिनमा बस्नु पर्ने भयो । उसका परिवारलगायत दुई सय जना जनता निमाविको क्वारेन्टिनमा पसे । शौचालय राम्रो थिएन, पालो पर्खिन एकाध घण्टा लाइनमा बस्नुपर्ने, पानीको अभाव त्यत्तिकै, खानाको पनि राम्रो व्यवस्था थिएन, औषधि र स्वास्थ्यकर्मीको अभाव, समग्रमा क्वारेन्टिनको अवस्था भेडाबाख्राको खोरभन्दा पनि नाजुक लाग्थ्यो । क्वारेन्टिन छिरेकै दिनदेखि बिर्खेकी पत्नीको बिराम भने बढ्दै थियो । पत्नीको औषधि उपचारको लागि बिर्खेले रोईकराई नगरेको पनि होइन तर क्वारेन्टिनमा उसको कुरा कसैले खास महत्त्व दिएन । कष्टसाथ बाह्र दिन बिते ।

बिर्खेकी पत्नी भित्र-बाहिर, छटपट-छटपट गर्दै थिई । त्यही बेला नानीले ‘आची आयो’ भनेपछि बिर्खे छोरी लिएर पालोमा बस्यो ।

‘यस्तोमा बसेर बाँच्ने मान्छे पनि मर्छ, हिजो बेलैमा अस्पताल पुर्याउन पाएको भए त्यो युवक मर्ने थिएन नि ! न स्वास्थ्यकर्मी, न त एम्बुलेन्स, यो त मान्छे मर्ने ठाउँ हो,’ लाईनमा कोही बोल्यो ।

‘हो यहाँ बसिरह्यो भने हामी पनि यसरी नै मर्रिन्छ,’ अरुले थपे ।

नानीले अरु त केही बुझिन । ‘यो त मान्छे मार्ने ठाउँ हो’…भन्ने कुराले उसको बाल मस्तिष्कमा निकै आघात पुर्यायो । ऊ खुब डराई ।

‘ल नानी जाऊ’ शौचालय भित्रको व्यक्ति निस्क्यो । बाहिरका केहीले पालो छोडिदिए । ‘ल आची गर छोरी,’ बाउले भन्यो ।

‘बाबा आची आ छैन, नगर्ने ।अब झट्टै कोठमा गैहालौं,’ बालाई तान्दै कोठामा लगी, ‘आमा छिटो उठ्नु न छिटो उठ्नु भागौं, यहाँ बसिराख्यो भने मरिन्छ, मार्छन्, छिटो उठ्नु न भागिहालौं । अहिले पुलिस पनि छैन ।’ हातमा समाउदै तान्दै नानीले भन्न थाली । उसले पत्नीको नाडी छाम्यो, ढुकढुकीमा कान राख्यो । कुनै चाल थिएन ।

“तिम्री आमा अघि नै यो संसारबाटै भागिसकिछ छोरी,” उसले भक्कानो छोड्यो ।

संखुवासभा