
भक्तपुर । इन्दिरा चापागाईंको दोस्रो लघुकथा सङ्ग्रह ‘दृष्टिगोचर’ लोकार्पण भएको छ।
सिर्जना अभियान समाजको आयोजनामा भाषा आयोगका सदस्य गोपाल अश्क, समालोचक हरिप्रसाद भण्डारी, अभियानका सचिव ध्रुव मधिकर्मी र हाम्रो लघुकथा केन्द्रकी अध्यक्ष लता केसीले संयुक्त रुपमा कृति लोकार्पण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अश्कले लघुकथा लेखनमा कम शब्द प्रयोग गर्ने र पुनरुक्तिबाट बच्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले ‘दृष्टिगोचर’ मा समावेश लघुकथाहरू सचेत र प्रभावकारी रहेको उल्लेख गर्नुभएको थियो । प्रमुख वक्ता भण्डारीले कृतिको समीक्षात्मक टिप्पणी गर्दै लघुकथाको सैद्धान्तिक अवधारणाको आधारमा चापागाईंका लघुकथाहरू पठनीय रहेको बताउनुभयो।
लघुकथा केन्द्रकी अध्यक्ष केसीले स्रष्टा चापागाईंलाई ५३ औँ जन्मदिनको शुभकामना दिँदै कृतिको सफलताको कामना गर्नुभएको थियो । सभापति मधिकर्मीले सिर्जना अभियानले साहित्यका विभिन्न विधाका स्रष्टाहरूको सिर्जनात्मक गतिविधिलाई प्रवर्द्धन गर्ने कार्य गरिरहेको बताउनुभएको थियो ।
लघुकथा गायनसहितको कार्यक्रममा एन्जेल नीलु, रमेश सुवेदी, वीरेन मालाकार र शान्ता तिम्सिनाले ‘दृष्टिगोचर’ बाट लघुकथा वाचन गर्नुभएको थियो । चापागाईंको ५३ औँ जन्मदिनको अवसरमा प्रकाशित ‘दृष्टिगोचर’ मा समसामयिक विषयवस्तु समेटिएका ५३ वटा लघुकथा समावेश छन्।
कार्यक्रममा स्रष्टा चापागाईंले आफ्नो लेखकीय धारणा राख्नुभएको थियो भने मन्दिरा चापागाईंले कार्यक्रम सञ्चालन गर्नुभएको थियो स्रष्टाकी छोरी विनिला भट्टराईले पारिवारिक दायित्वबीच पनि आमाको साहित्यिक सिर्जनालाई निरन्तरता पाएकोमा गर्व व्यक्त गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

